Logo

प्रधानमन्त्री ओलीले सागको भव्य उद्घाटन कार्यक्रम छुटाएनन्



काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छिन् । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७ः५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरिन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली भने आजको उद्घाटन सत्रमा सहभागी हुन पाएनन् । एपेन्डिसाईटिसको शल्यक्रिया भएपछि प्रधानमन्त्री यतिवेला अस्पतालमै आराम गरेर बसिरहेका छन् । चिकित्सकले उनको स्वास्थ्यमा निकै सुधार आइरहेको बताएका छन् । अस्पतालबाट दुई चार दिनभित्रै डिस्चार्ज गरिने चिकित्सकहरुको भनाई छ ।

आजको सागको उद्घाटन सत्रमा सहभागी हुन नपाएपनि प्रधानमन्त्री ओलीले अस्पतालबाटै टिभीमा प्रत्यक्ष प्रशारणमार्फत उक्त ईभेन्टलाई नियाँलेका थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै लाईभमार्फत उक्त सागको उद्घाटन हेरेको जनाएका छन् । आफ्नो फेशबुक पेजमार्फत उनले यस्तो जानकारी गराएका हुन् ।

उनले भनेका छन्,”हामीले प्रधानमन्त्रीलाई दशरथ रंगशालामा आयोजित सागको भव्य उद्घाटनमा धेरै सम्झियौं, तर उहाँले यो अवसरलाई भने छुटाउनुभएन् । प्रधानमन्त्रीज्यूले सागको भव्य उद्घाटन अस्पतालको बेडबाटै प्रत्यक्ष रुपमा हेर्नुभयो । अस्पताललाई धेरै धेरै धन्यवाद । जसले वाईफाई र अन्य प्राविधिक सुविधा प्रदान गर्नुभयो ।” File Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्