Logo

२० वर्षपछि दक्षिण एसियाली खेल नेपालमा



काठमाडौँ, १६ मंसिर । दक्षिण एसियाली खेलकुदको महामेला काठमाडौंमा सुरु भएको छ । दशरथ रंगशालामा आइतबार आयोजित भव्य समारोहमा राष्ट्रपति विद्या भण्डारीले १३औँ साग उद्घाटन गरिन् । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको यो प्रतियोगिताको आठौँ संस्करण पनि सन् १९९९ मा नेपालले नै आयोजना गरेको थियो ।

‘१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको घोषणा गर्दछु,’ राष्ट्रपति भण्डारीको यो घोषणासँगै प्रतियोगिता आधिकारिक रूपमा सुरु भएको छ । ओलम्पियन तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी जितबहादुर केसीले रंगशालामा साग ‘टर्च’ भित्र्रयाए । त्यसपछि अन्य ओलम्पियन खेलाडी उमेश मास्के, राजेन्द्र भण्डारी, नयना शाक्य, वैकुण्ठ मानन्धर र दीपक विष्टले साग टर्चलाई रंगशाला परिक्रमा गराएका थिए । खेलाडीका तर्फबाट क्रिकेटर पारस खड्का र निर्णायकको तर्फबाट ब्याडमिन्टनका रेफ्री दीपक थापाले शपथ लिएका थिए । हालै निर्माण पूरा भएको दशरथ रंगशालामा कृत्रिम लाइटको प्रयोगले साग उद्घाटन विशेष देखिएको थियो । नेपाली सेना, एपिएफ र नेपाल पुलिस क्लबका कलाकारले प्रतियोगितामा सहभागी नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सको नक्साको मानव निर्मित कलात्मक आकृति बनाएर उनीहरूकै गीतमा नृत्य गर्दै स्वागत गरेका थिए । साथै, लेजर प्रोजेक्टरमार्फत सहभागी सबै देशको नक्सा र झन्डासहितको प्रस्तुति पनि राखिएको थियो ।

उद्घाटन समारोहमा खेलाडीको ‘मार्चपास्ट’देखि नेपाली कला–संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कलाकारहरूले नेपालका सातै प्रदेशको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति राखे । कुन्ती मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य, इन्दिरा जोशी र मिलन नेवाःले सागसम्बन्धी गीत प्रस्तुत गरेका थिए । उद्घाटन समारोहको अन्त्यमा गायक दीपक बज्राचार्यले आफ्नो चर्चित गीत ‘मनमगन’ प्रस्तुत गरे । उद्घाटन सत्रको अन्त्यमा आतिशबाजी गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्ष जीवनराम श्रेष्ठले सम्बोधन गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत उपस्थित थिए ।

नेपालले तेस्रोपटक आयोजना गरेको साग उद्घाटन र समापन समारोह व्यवस्थापनका लागि मात्रै १३ करोड रकम छुट्याएको छ । शरदचन्द्र शाह राखेपका सदस्यसचिव छँदासन् १९८४ मा आफ्नै अग्रसरतामा नेपालले पहिलोपटक साग ९तत्कालीन नाम साफ० आयोजना गरेको थियो । दोस्रोपकट सन् १९९९ मा नेपालले सागको आठौँ संस्करण आयोजना गरेको थियो । काठमाडौं, ललितपुर, पोखरा र जनकपुर गरी चार सहरमा सागका २८ खेल हुँदै छन् । सुरुमा २९ खेल समावेश गरिए पनि प्याराग्लाइडिङमा अन्य देशले सहभागिता नजनाएपछि २८ खेल मात्रै आयोजना गरिएको हो । २८ खेलमा तीन सय १६ स्वर्णसहित एक हजार एक सय ११ पदकका लागि दक्षिण एसियाका सात देशबाट झन्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा नेपालबाट मात्रै पाँच सय ९४ खेलाडी सहभागी छन् ।

औपचारिक उद्घाटनअघि नै केही खेल सुरु भइसकेका छन् । भलिबलको प्रतिस्पर्धा गत बुधबारबाटै सुरु भएको हो । नेपाली पुरुष टोली भलिबलको पदक होडबाट बाहिरिसकेको छ । महिला टोली भने फाइनलमा पुगेको छ । महिला टोलीले स्वर्ण पदकका लागि मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । खोखो खेल कीर्तिपुर र ब्याडमिन्टन पोखरामा आइतबारबाटै सुरु भएका छन् । प्रतियोगिताका अधिकांश खेल सोमबारबाट सुरु हुँदै छन् । समापन समारोह २४ मंसिरमा दशरथ रंगशालामै हुनेछ ।
नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्