Logo

प्रदेश र स्थानीय सरकारमा समन्वय अभाव



कालीकोट, मङ्सिर १६ । केन्द्रीकृत राज्य प्रणालीभन्दा विकेन्द्रित राज्य प्रणालीमा मनपरी देखिएको छ । स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय नगर्दा पुरानो परिवेशभन्दा सङ्घीयतामा मनपरी बढेको जनप्रतिनिधिले बताउने गरेका छन् ।

प्रदेश सरकारले स्थानीय तह केन्द्रित गरी पठाउने विकास बजेटमा मनपरी भएको समाचार धेरै पटक सार्वजनिक भइसकेको छ । सान्नी त्रिवेणी गाउँपालिकाअन्तर्गत त्रिवेणी पाटनमा बनाएको धर्मशाला, कषि नमुना गाउँ सान्नी त्रिवेणी र माल्कोटलाई सहकारी नमुना गाउँ होमस्टे बनाउन आएको बजेटमा चरम दुरुपयोग भएको समाचार सार्वजनिक भइसकेका छन् ।

यस्ता धेरै योजनामा प्रदेशले स्थानीय सरकारसँग समन्वय नगर्दा दुरुपयोग बढेको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए ।उनले तलदेखि माथिसम्म पुरानै सोच र पहुँचलाई आधार मानी प्रदेश सरकारले आफूखुसी योजना बनाएर बजेट पठाउँदा नागरिकले आवश्यकतानुसार विकास भएको महसुस नगरेको बताएका छन् ।

नगरप्रमुख बरालले बजेटकै अभावमा हामी विद्युत् उत्पादन जस्ता योजना अगाडि बढाउन नपाएर केन्द्र सरकारसँग माग गरिरहेका तर प्रदेश सरकारले धर्मशाला, मन्दिर, नमुना सहकारी गाउँ बनाउनेलगायतका शीर्षकमा ठूलो बजेट खर्च गरेकाले नागरिकमा निराशा बढेको जानकारी गराए ।

रास्कोट नगरपालिकाले मात्र गत आर्थिक वर्षमा नगर सभा हुँदै जिल्ला सभामा पारित गराएर प्रदेशलाई ३७ योजनाका लागि बजेटको माग गरेको थियो । तर, मागअनुसार एउटा पनि योजना प्रदेश सरकारको योजनामा समेटिएन ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका नातागोता र उनलाई घेरामा राख्नेले अरू नै योजना बनाएर बजेट ल्याएर र काम गराएको आरोप स्थानीय सरकारका पदाधिकारीको छ ।गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्