Logo

पहिरोमा पुरिए ५ मजदुर



काठमाडौँ, १६ मंसिर । सडक स्तरोन्नतिका क्रममा माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर आइतबार ५ कामदारको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगर–२०, मौजास्थित बिसौनामा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जितबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी पुरिएका हुन् ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनीहरू सबै सल्यान, बागचौर नगरपालिका–४ फेदीखोलाका हुन् । महानगरको कनेक्टिङ रोडअन्तर्गत मनिपाल–बिसौना–सिकलेस–मनाङ सडक खण्डको उक्त स्थानमा रिटेनिङ वाल बनाउने क्रममा पहिरो खसेको थियो । कास्कीमा उपनिर्वाचनका कारण शुक्रबार र शनिबार मजदुरलाई बिदा दिइएको थियो । रिटेनिङ वाल बनाउन दुई दिनअघि जग खनिएको थियो । आइतबार बिहान ७ मजदुर गएर सोइलिङको काम गर्न लागेको १० मिनेटमै माथिबाट ढिस्को खसेर पुरेको ठेकेदार कम्पनी रोयलरसनीदेव जेभीका इन्जिनियर सोवित केसीले बताए । बिहान ८ बजेर ५ मिनेटको समयमा ३० मिटर माथिबाट आएको पहिरोले उनीहरू पुरिएका थिए । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र सर्वसाधारणले करिब २ घण्टा लगाएर उनीहरूको शव निकालेका हुन् । इन्जिनियर केसीले ‘यसरी काम गर्नू है’ भनेर अर्कोपट्टि लाग्नासाथै पहिरो खसेको बताए । ‘एकैछिन त्यहीँ भएको भए म पनि पर्ने रहेछु,’ उनले भने । मजदुरद्वय खिमलाल बस्नेत र सुकबहादुर बस्नेत भने भाग्न सफल भए । खुट्टा मात्र माटोले चेपेकाले उनीहरू बचेको केसीले बताए ।

पाँचै जनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी प्रहरीको छ । पोखरा–२० का अध्यक्ष सीम गुरुङका अनुसार उक्त सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको छ ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्