Logo

यी महिलाले पुर्याइन् सिद्धबाबालाई प्रहरी हिरासत



काठमाडौं, १६ मंसिर । उनी सिद्धबाबा जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीका रुपमा चर्चित छन् । उनको वास्तविक नाम कृष्णराज गिरी हो । गिरी कहाँ एक महिला भक्तका रुपमा पुगेकी हुन् । चतरास्थित आश्रममा समेत ओहोरदोहोर गरिरहने उनी अन्य बाबाहरुको आश्रममा पनि पुग्थिन् ।

पोखरा स्थायी घर भएकी र विवाहित ती महिला ३० वर्षको आसपासकी छिन् । उनको दुई सन्तान पनि छन् । धार्मिक गतिविधिमा सक्रिय उनले महायोगी सिद्धबाबा भनिने कृष्णराज गिरीको जीवनमा ठूलो तरंग ल्याइदिइन् । गिरीमाथि बलात्कारको गम्भीर आरोप लगाउँदै उजूरी समेत दर्ता गरिन् ।

सिद्धबाबा भनिएका गिरी नाम र लोकप्रीयताको उचाईमा पुगेका थिए । उनको आश्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि पूर्व प्रधानमन्त्रीहरु समेत पुग्थे । देशका शक्तिशाली व्यक्तिहरु सिद्धबाबाको चतरास्थित आश्रममै पुगेर आशिर्वाद लिन्थे । तर, उनलाई कुनैपनि शक्तिले प्रहरी हिरासतमा जानबाट रोक्न सकेन ।

प्रहरीमा उजूरी भएपछि अनुसन्धान अगाडि बढिरहेको सुनसरी एसपी यज्ञबिनोद पोखरेलले गत शुक्रबार जानकारी गराएका थिए । त्यसपछि उनी विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना भए । उनलाई पक्राउ गर्ने विषय कठिन नै थियो । प्रहरीले दुई दिन थप लिएर उनलाई अस्पतालबाट नै पक्राउ गर्यो । अदालतबाट पक्राउ पूर्जी लिएको केही दिनपछि गिरी पक्राउ परेका हुन् ।

गिरी पक्राउ परेपछि उनीमाथि अनुसन्धान अगाडि बढ्नेछ । अब मुद्दा दायर हुने नहुने बारे टुंगो लाग्नेछ । यो विषय अदालतमा पुगेपछि अदालतले टुंगो लगाउन सक्नेछ ।

जसले गिरीलाई आरोप लगाइन् उनी पनि विवादास्पद भएको तथ्य पत्ता लागेको छ । उनले गिरीलाई फेसबुकमा गम्भीर मेसेजहरु पठाउने गरेको खुलेको छ । विभिन्न एकाउन्टबाट फेसबुक खोलेको समेत खुलेको छ । अब दुवैमाथि गम्भीर छानविन हुने बुझिएको छ ।

यसअघि सिद्धबाबामाथि महिलाले षड्यन्त्रमूलक तरिकाले चरित्रहत्या गर्न खोजेको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण गराएको थियो । गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको थियो ।
सुनसरीको चतरामा आश्रममा रहेका महायोगी सिद्धबाबाको यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रतिष्ठानले सिद्धबाबाविरुद्ध गलत अभिप्रायका साथ केही व्यक्तिहरु लागेको उल्लेख गरेको थियो ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले सिद्धबाबाविरुद्ध कुतसीत नियतले चरित्रहत्या गर्न केही संगठित समूह सक्रिय रहेको बताएका थिए । उनले भनेका थिए,‘ सिद्धबाबाविरुद्ध कुत्सीत नियतले चरित्रहत्या गर्ने गरी केही संगठित प्रयास भइरहेकोले त्यसतर्फ सजग रहन आग्रह गर्दछौं ।’

प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले सिद्धबाबाविरुद्ध संगठित गिरोह लागेको बताए । संगठित गिरोहविरुद्ध प्रहरीमा निवेदन समेत दिइएकोले निष्पक्ष छानविन गरी कारबाही हुनुपर्ने बताए । (घटनाको संवेदनशीलताका कारण महिलाको नाम र तस्बिर सार्वजनिक नगरिएको हो )



प्रतिक्रिया दिनुहोस्