Logo

‘लालकील्ला’ मा नेकपालाई धक्का



काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका लागि धरान लालकील्ला थियो । विगतको संसदीय चुनाव देखि स्थानीय निकायमा पनि कम्युनिष्ट उम्मेदवारहरुले जित्दै आएका थिए । धरान उपमहानगरपालिकाको प्रमुखमा गत स्थानीय चुनावमा कम्युनिष्ट उम्मेदवारले विजयी हासिल गरेका थिए ।

यसपटक धरानमा नेकपालाई धक्का लागेको छ । नेपाली काँग्रेसका तिलक राईले बाजी मारे । उनले नेकपा उम्मेदवार प्रकाश राईलाई पराजित गरे ।

भक्तपुर पनि लालकील्ला नै हो । अघिल्लो चुनावमा भक्तपुरमा कम्युनिष्टहरुले विजय हासिल गरेका थिए । भक्तपुरको प्रदेशसभा चुनाव भएको क्षेत्रमा नेकपा र नेमकिपा बलियो थिए । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेकपाले नै चुनाव जितेको हो । तर, ती क्षेत्र समेटिएको प्रदेशसभामा नेपाली काँग्रेसका कृष्ण भँडेलले चुनाव जिते ।

चितवन पनि नेकपाले लालकील्ला बनाइसकेको थियो । भरतपुर महानगरपालिकामा मेयर नेकपाकी रेणु दाहाल छिन् । तर, यसपटक तीनवटा वडाको चुनावमा नेकपा पराजित भयो । नेपाली काँग्रेसले चुनाव जित्यो ।

नेकपाले कास्की २ र दाङ ३ को प्रदेशसभा चुनावमा मात्र पुनः जित हासिल गर्यो । ती दुवै क्षेत्रमा खाली भएको सिटमा पूर्व विजेताका पत्नीले चुनाव जितेका हुन् ।



प्रतिक्रिया दिनुहोस्