Logo

नेपाल भ्रमण वर्षको तयारी फितलो



काठमाण्डौ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्ष सुरु हुन ठीक एक महिना बाँकी छ । २० लाख पर्यटक पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन निकै कठिन देखिएको छ । पूर्वाधार निर्माणमा समयमै ध्यान नदिदा भ्रमण वर्षको लक्ष्य धरापमा परेको हो । नेपालका महत्वपूर्ण सम्पदा पर्यटकले हेर्न लायक नै बनाइएको छैन । भूकम्पपछिको पुनः निर्माणले गति लिन नसक्दा भ्रमण वर्ष प्रभावित हुने देखिएको हो ।

सरकारले दुइ वर्षअघि नै सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरे पनि राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गर्न एक वर्ष लाग्यो । नियुक्तिपछि पनि भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने ठोस योजना ल्याउन सकेको छैन । भ्रमण वर्षमा यो वर्षभन्दा बढी पर्यटक किन नेपाल आउने ?

पर्यटकलाई केके सुविधा र आकर्षण छन् भन्ने प्रश्नको जवाफ सरकारी अधिकारीहरूसँगै छैन । यतिसम्म कि भ्रमण वर्ष लक्षित कुनै विशेष प्याकेज पनि बनाइएको छैन । भ्रमण वर्ष आउन २ महिना भन्दा कम समय बाँकी हुँदासम्म तयारी फितलो देखिएको छ । पर्यटकले घुम्ने काठमाण्डौका पर्यटकीय स्थल नै अस्तव्यस्त छन् । समस्या यति मात्रै होइन, नेपाल भ्रमण वर्षबारे अन्तराष्ट्रिय समुदायमा पर्याप्त प्रचार नै नभएको पर्यटन व्यवसायी बताउँछन् ।

भ्रमण वर्षका लागि सरकारले नयाँ गन्तव्यस्थलको पहिचानसमेत गर्न सकेको छैन । विगतमा जुन क्षेत्र घुम्न पर्यटक आउँथे, भ्रमण वर्षमा पनि तिनै क्षेत्रमा सिमित हुने देखिन्छ । २० लाख पर्यटक आउलान् या नआउला त्यो कुरा आफ्नो ठाउँमा छ तर पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटकमैत्री वातावरण र असल संस्कारको विकास पनि भएको छैन ।

सडकको अवस्था, ट्याक्सी सेवाको अस्तव्यस्तता, राजधानी केन्द्रित विमानस्थल, हराभरा वातावरणको अभाव जस्ता कारणले पर्यटकलाई लोभ्याउने आधार कमजोर छ । भुकम्पले क्षति ग्रस्त वसन्तपुरको एतिहासिक संस्कृति सम्पदाहरु हेर्दा लाग्छ यसले नेपालको इज्जत नै घटाइरहेको छ । विश्वसम्पदा सूचिमा सूचिकृत वसन्तपुर दरबार क्षेत्र भूकम्पले क्षतिग्रस्त भएको थियो । तर क्षतिग्रस्त भएको ४ वर्षभन्दा बढि वितिसक्दा पनि पुनः निर्माण हुन सकेको छैन ।

वसन्तपुर मात्रै होइन, काठमाण्डौका अधिकांश संरचना पर्यटकले हेर्न लायक छैनन् । विगतमा सबैका लागि हेर्नलायक र आकर्षक मानिन रानीपोखरी पनि भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनः निर्माण हुन सकेको छैन । यित त केही उदाहरण मात्रै हुन् । सरकारले संस्कृति सम्पदा बनाउन नसकेका कारण २० लाख विदेशी पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य देखिएको अधुरो देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्