Logo

सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भयो, हामी उत्साहित छौं : प्रवक्ता शर्मा



काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार सम्पन्न उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनेक प्रतिकूलताबीच मतदाताले काँग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिएर जिम्मेवार र शालिन प्रतिपक्षी भूमिका अनुमोदन गरेको बताए । उनले भने, “समग्रमा मत बढे पनि कतिपय स्थानमा मत घट्नुको आन्तरिक साङ्गठनिक समीक्षा गरेर आगामी दिनको तयारी गर्नुपर्ने टड्कारो आवश्यकताको सन्देश प्राप्त गरेका छौँ । विसं २०७४ को तुलनामा काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बीचको मतान्तर विसं २०७६ मङ्सिर १४ गते आइपुग्दा घटेको छ ।”

यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो । काँग्रेसले उपनिर्वाचनमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएकोमा त्यस बारेमा साङ्गठनिक कमजोरीको समीक्षा गर्ने जनाउँदै प्रदेश नं २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश नं ५ को अर्घाखाँची र प्रदेश नं ३ को चितवन, प्रदेश १ को धरान र काठमाडौँ उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले उत्साही तुल्याएको जनाएको छ ।

प्रवक्ता शर्माले भने, “विगतमा काँग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बाबजुद पनि स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको सिङ्गो देश साक्षी छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ ।”

उपनिर्वाचन सरकार बनाउन या बदल्न नभई सरकारलाई सच्याउन योगदान गर्न सक्छ भन्ने आफूहरुले मतदातालाई गरेको अपिलबमोजिम नै मङ्सिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने प्रष्ट सन्देश दिएको उनले दाबी गरे । उपनिर्वाचनको मतपरिणामले विगत २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले भने, “एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षको अङ्क हासिल भएको तथ्य राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ ।

बाग्लुङको प्रदेशसभा क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्नुपरेको स्थिति र कठिनाइले प्राप्त विजय, कास्की र दाङमा वस्तुगत राजैनीतिक प्रभावभन्दा सहानुभूतिमा मत संयोजन गर्नुपरेको अवस्था तथा परिणाम हासिल नगरेपनि काँग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र सरकार सच्याउनकै लागि जरुरी पाठ हुन ।”

काँग्रेसले उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्ने, निर्वाचनमा सहभागी सबै मतदातामा धन्यवाद र आभार प्रकट गर्दै प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गरेको छ ।

साथै, निर्वाचनमा प्रतिस्पर्धी सबैलाई जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि अपिल गर्दै निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी सबैलाई आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गरेको छ । रासस

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्