Logo

यस्तो रह्यो ५२ स्थानको जित–हार



काठमाडौँ, १७ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक दल नेकपा र कांग्रेसको मत र परिणाम करिब उस्तै आएको छ ।

५२ स्थानमध्ये सत्तारूढ दल नेकपा नेतृत्वको वाम गठबन्धनले ३१ स्थानमा जित हात पारेको छ। कांग्रेसले १३, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३ र स्वतन्त्रले १ स्थानमा जितेका छन्। संसद्मा रहेका चार राष्ट्रिय पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै उपनिर्वाचनमा आफ्नो अस्तित्व देखाउन सकेका छन्। चुनावी चर्चामा विवेकशील, साझा, राप्रपा, नेमकिपालगायतका दल रहे पनि उनीहरूले जित निकाल्न सकेनन्। न्यून मतमै उनीहरूले चित्त बुझाउनुपरेको छ। प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका रिक्त ४८ स्थानका लागि उपचुनाव भएको थियो। नेकपाले केही स्थानमा आफ्नो पकड गुमाएको छ भने केही स्थान थपेको छ। यसअघि नेकपाले जितेको प्रदेशसभाको भक्तपुर १९क० र धरान उपमहानगरपालिकाको प्रमुख पद उसले गुमाएको छ। प्रतिनिधिसभाको कास्की–२ र दाङ ३९ख० मा नेकपाका विद्या भट्टराई र विमलाकुमारी खत्री विजयी भएका छन्। उक्त दुवै क्षेत्रबाट यसअघि पनि नेकपाकै उम्मेदवारले जितेका थिए। प्रदेशसभाकै बागलुङ २९ख० बाट नेकपाले समर्थन गरेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले जितेका छन्। यसअघि पनि उक्त क्षेत्रमा जनमोर्चाले नै जितेको थियो।

स्थानीय तहमा यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पद नेकपाले जितेको छ। त्यहाँ नेकपा उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पद पनि नेकपाको हातमा आएको छ। मकालुबाट तेजबहादुर पोखरेल र पिपराबाट विक्रम चौधरी विजयी भएका छन्। यसअघि मकालुमा नेकपाले जितेको थियो भने पिपरा गाउँपालिका नेकपालाई थपिएको हो। पिपरामा यसअघि राजपाले जितेको थियो। उपनिर्वाचन भएको ४३ वडामध्ये २४ वडामा नेकपाले जितेको छ। प्रतिपक्षी कांग्रेसका लागि प्रदेशसभाको भक्तपुर १९क० निर्वाचन क्षेत्र र धरान उपमहानगरको प्रमुख जित्नु मुख्य सफलता बन्न पुगेको छ। ती दुवै स्थान यसअघि नेकपाले जितेको थियो। तर कांग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद गुमाएको छ। प्रदेशसभाको भक्तपुर १९क० बाट कृष्णलाल भडेल र धरानको प्रमुखमा तिलक राई विजयी भएका छन्। वडातर्फ ११ वडाध्यक्ष पद कांग्रेसले हात पारेको छ। समाजवादी पार्टीले प्रदेश २ का विभिन्न स्थानीय तहका चारवटा वडामा जित हासिल गरेको छ। उक्त प्रदेशमा ८ वटा वडामा चुनाव भएको थियो।

राजपाले यसअघि जितेको महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पद गुमाएको छ। उसले ४३ मध्ये ३ वटा वडा मात्रै जितेको छ। प्रदेश २ को दुई र प्रदेश ५ को एक गरी तीनवटा वडा राजपाले जितेको हो।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्