Logo

च्याम्पियन आमा



काठमाडौँ, १७ मंसिर । तेक्वन्दोमा नौ वर्षअघि ग्योरोगी फाइट तर्फ स्वर्ण जितेकी आयशा शाक्य १३ औं सागमा पुम्सेको व्यक्तिगत स्पर्धा स्वर्ण जितेपछि सोमबार एरिनाबाट बाहिरिँदा पति दीपक विष्ट र जेठा छोरा आदिशलाई अँगालो मार्दै धेरैबेर रोइन् । उनलाई सम्हालिन निकै गाह्रो भएको थियो । एउटा खेलाडीको रुपमा मात्रै होइन, एउटी आमाको रूपमा पाएको सफलतामा झरेको आँसु खुसीकै थियो ।

उनले कला प्रदर्शनी गर्ने तेक्वान्दोको खेल ‘पुम्से’ मा २९ वर्षमाथिको युगल स्पर्धामा पनि स्वर्ण जितिन् सन्जिवकुमार ओझासँगै । यससँगै उनी दक्षिण एसियाली खेलकुद इतिहासमै ३ स्वर्ण कब्जा गर्दै सर्वाधिक सफल नेपाली महिला खेलाडी बनिन् । उनले सागमै २ रजत पनि जितेकी छन् । पुराना सबै सफलता ग्योरोगीमा हुन् । ओलम्पियन तथा सागमा सर्वाधिक चार स्वर्ण जितेका कीर्तिमानी दीपकका यी पत्नीलाई पुम्सेको राष्ट्रिय टिममा छनोट हुँदा प्रश्न गर्नेहरू पनि थिए । ती सबै ‘शंकालु’प्रति मीठो जवाफ बन्यो उनको दुई स्वर्ण । ‘आमाको रूपमा पुनरागमन गर्दा दबाब थियो, पुरानो आयशा हुन सक्दिनँ कि भन्ने थियो । आज यो स्वर्णले सबै जवाफ दिएकी छु,’ ३२ वर्षीया आयशाले भनिन्, ‘म आफ्नै मिहिनेतले यहाँसम्म आएकी हुँ भन्ने प्रमाणित गर्नु अब अरु केही गर्नुपर्छ जस्तो लाग्दैन ।’ नेपाल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय तेक्वान्दो टोलीमा ग्योरोगीतर्फका प्रशिक्षक दीपकले पनि आफ्नो श्रीमती भएकै कारण आयशालाई संरक्षण मिलेको आरोप अस्वीकार गरे । ‘मेरा कारणले मात्र टिममा परेको भए उनले आज दुई स्वर्ण जित्ने थिइनन्, उनले आफ्नो क्षमता प्रस्तुत गरेरै राष्ट्रका लागि पदक जितेकी छिन्,’ दीपकले प्रस्ट पारे । राष्ट्रिय तेक्वन्दो एकेडेमी, सातदोबाटोमा सफलता प्राप्त गरेसँगै आयशाले दूधे छोरालाई रुवाउँदै प्रशिक्षणमा खटिएको सम्झिइन् । वैदेशिक प्रशिक्षणमा रहँदा छोराहरूको यादमा तड्पिएको बताइन् । अनि उनको क्षमता नबुझी नकारात्मक प्रतिक्रिया दिनेहरूलाई जवाफ दिइन् । सफलताले सबै पीडा बिर्साउँछ ।

व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नु पूर्व आयशा केही नर्भस देखिन्थिन् । ५ देशका खेलाडी सम्मिलित यस स्पर्धामा उनले प्रदर्शन सुरुमै थियो । १० पूर्णांकमा ७।९४० अंक बनाएर उनले दिएको टार्गेट अरु देशका खेलाडीले तोड्न सकेनन् । यस स्पर्धामा भारतकी प्रजाक्ता प्रकाश एंकोलकरले ७।६४० अंकसहित रजत तथा श्रीलंकाकी गायथ्री सान्दामाली पारावहेरा मेहेन्ची अराचचीगेले ७।५५० र पाकिस्तानकी मेहरू निशाले ७।३६० अंकसहित कांस्य जिते । एकलमा स्वर्ण जितेको करिब ४५ मिनेटपछि युगलतर्फ सन्जिवसँगको प्रदर्शन पनि सुरुमै थियो । ८।१६० को स्कोर खडा गरेका उनीहरूलाई अरु चारै देशका टिमले जित्न सकेनन् । पाकिस्तानका मेहरू निशा र शावाज अहमदले ७।८६० अंकसहित रजत जिते । बंगलादेशका दीपुचाकमा र कोउसुम ७।८५० र श्रीलंकाका लक्ष्मामिलान्दारिगे र गायथ्रीले ७।८३० अंकसहित कांस्य जिते ।

आयशाले दक्षिण एसियाली खेलकुदमा व्यक्तिगत उपलब्धिका हिसावमा दोस्रो र तेस्रो स्वर्ण सोमबार जितेकी हुन् । यसअघि सन् २०१० मा बंगलादेशमा भएको ११ औं सागमा स्वर्ण तथा सन् २००६ मा श्रीलंकामा भएको १० औं र सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा रजत पदक जितेकी थिइन् । अघिल्ला सफलताको तुलनामा यसपल्ट उनका लागि विशेष रह्यो, किनभने यो उनको करिअरको ‘सेकेन्ड इनिङ्स’ थियो ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्