Logo

‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला



काठमाडौं, १७ मंसिर । सिद्धबाबा भनिने कृष्णराज गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । उनलाई दुई छोरा भएकी विवाहिता महिलाले कात्तिक ४ गते चतरास्थित आश्रममै बलात्कार गरेको गम्भीर आरोप लगाएकी छिन् ।

रिपोर्टर्स नेपालको सम्पर्कमा आएकी ती महिला ३० वर्षको आसपासकी छिन् । उनी धार्मिक गतिविधिमा अत्याधिक सहभागी हुँदै आएकी छिन् । आफ्नो नामको पछाडि पनि धार्मिक शब्द राखेकी छिन् ।

४ कात्तिकमा आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले घटना बाहिर ल्याउन अनेक लोभ लालच र डर धम्की आएको बताइन् । उनले भनिन्, मलाई पटक पटक लोभ लालच र धम्की आयो । आफ्नो परिवारलाई समेत दबाब दिइएको उनले बताइन् ।

स्नातक सम्म अध्ययन गरेकी उनी धर्ममा चुर्लुम्म डुबेको बताउँछिन् । तर, त्यो भुल रहेछ भन्छिन् । आफूले गुरु मानेकाबाट नै दुष्कार्य होला भनेर जीवनमा नचिताएको बताइन् । उनले भनिन्, ‘यस्तो होला भन्ने सपनामा पनि चिताएको थिइन् ।’ सिद्धबाबा भनिएका कृष्णराज गिरीबारे उनले भनिन्, ‘त्यो त पापी हो ।’

असोजमा आफू पाथिभरा पुगेको र गुरुको आश्रम फर्किएको जानकारी गराइन् । आश्रममा पुगेपछि आफूमाथि दुव्र्यवहार भएपछि ठूलो पीडामा परेको बताइन् । आश्रमका गन्यमान्य व्यक्तिहरुसँग त्यसबारे भन्दा आफूलाई कुरा बाहिर नल्याउन अनुरोध गरिएको बताइन् । स्वयं कृष्णराज गिरीले पनि माफी माग्ने भनेको बताइन् ।

गिरीको माथिल्लो तहसम्म पहुँच भएकोले त्रसित भएको उनको भनाई छ । उनले भनिन्, मेरो सुन्ने कोही छैन । कहाँ जाऊँ ? आफ्नो दाजुलाई समेत दबाब दिने कार्य भएको बताइन् ।

तर, सिद्धबाबामाथि महिलाले षड्यन्त्रमूलक तरिकाले चरित्रहत्या गर्न खोजेको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ । प्रतिष्ठानले धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले सिद्धबाबाविरुद्ध कुतसीत नियतले चरित्रहत्या गर्न केही संगठित समूह सक्रिय रहेको बताएका थिए । उनले भनेका थिए,‘सिद्धबाबाविरुद्ध कुत्सीत नियतले चरित्रहत्या गर्ने गरी केही संगठित प्रयास भइरहेकोले त्यसतर्फ सजग रहन आग्रह गर्दछौं ।’

प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले सिद्धबाबाविरुद्ध संगठित गिरोह लागेको बताए । संगठित गिरोहविरुद्ध प्रहरीमा निवेदन समेत दिइएकोले निष्पक्ष छानविन गरी कारबाही हुनुपर्ने बताए । घटनाको संवेदनशीलताका कारण महिलाको नाम र तस्बिर सार्वजनिक नगरिएको हो ।

कृष्णराज गिरी वास्तविक नाम भएका सिद्धबाबा जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीका रुपमा चर्चित छन् । उनलाई प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होम्सको अस्पतालबाट पक्राउ गरेको थियो । अदालतले सोमबार उनीमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप्न अनुमती दिएपछि हिरासतमा राखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्