Logo

चार किलो सुनमा प्रहरी मुछियो



काठमाडौं, १७ मंसिर । तेत्तीस किलो सुन प्रकरण र सनम शाक्यको हत्या प्रकरण लामो समयसम्म रहस्यमय चर्चाको बिषय बन्यो । तेत्तीस केजी सुन प्रकरणपछि सुन तस्करी न्यून भएको आँकलन गरिएको थियो । प्रहरीको ध्यान सुनतिर कम हुन थालेपछि तस्करहरु फेरि सल्बलाउन थालेका छन् । पछिल्लो समयमा सुनतस्करी पूर्ववत रुपमा हुन थालेको घटनाक्रमले देखाउन थालेका छन् ।

केही दिनअघि तस्करीको सुन क्यारिङ गर्ने सुमन खत्रीले ४ किलो सुन काठमाडौंमा ल्याइसकेपछि लुटिएको भनेर एक सामान्य मजदुरलाई थुनाएका छन् । तस्करीको सुन लुटिएको खत्रीको रिपोर्टिङपछि सुनधनीले उनीमाथि नै शंका गरे । खत्रीले शंका दूर गर्नका लागि एक चिनजानका एसएसपीमार्फत् सुन लुटेको आरोपमा एक निरीह मजदुर विष्णु खड्कालाई मंसिर ११ देखि महानगरीय प्रहरी बृत्त बौद्धमा थुनाएका छन् । सामान्य यातायात मजदुर खड्कालाई सुन लुटेको आरोपमा प्रहरीले अनुुसन्धान गरिरहेको छ । तर जिल्ला प्रशासन कार्यालयमा मंसिर ११ मा म्यादथप गर्दा खड्कामाथि सार्वजनिक अपराधको आरोप लगाएको छ । तर प्रहरीले उनीमाथि सुनकै बिषयमा अनुसन्धान गरिरहेको बौद्ध प्रहरी बृत्तका प्रमुख डीएसपी रमेशबहादुर सिंहले बताएका छन् । उनले भने–‘केस सुन लुटेको हो । तर सार्वजनिक अपराधमा म्यादथप गरिएको छ । एक ब्यक्तिको कोदारीबाट ल्याएको ४ किलो सुन लुटेको भन्ने छ । सुन क्यारिङ गर्नेले बुझायो, बुझाउनासाथ लुटिएको कुरा आएको छ । लुट्नेमा खड्काको संलग्लता देखिन्छ । अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले एउटा अभियोगमा म्यादथपी अर्कै कसुरमा अनुसन्धान गरेको स्वीकार गरेको छ । सार्वजनिक अपराधमा म्यादथप गरेर सुन लुटेकोमा प्रहरीले अनुसन्धान गर्न कानुनतः मिल्ने हो कि होइन त ? सुन कसको हो, बैध रुपमा ल्याएको हो कि अवैध रुपमा ल्याएको हो, त्यसको निक्र्यौल नगरी, लुटेको आरोपमा यातायात मजदुर खड्कालाई ७ दिनदेखि थुनामा राखिएकोमा उनका अभिभावक चिन्तित भएका छन् ।

क्यारिङ गर्ने सुमन खत्रीकै डिजाइनमा सुन लुटिएको भए पनि उनले खड्कालाई थुनाएर तस्करहरुको आँखामा छारो हाल्न खोजेको स्रोत बताउँछ । स्रोतका अनुसार उक्त सुन खत्रीकै योजनामा लुटी एक एसएसपीलाई भनेर खड्कालाई थुनेर उक्त सुन पचाउन खोजिएको हो । सुमन खत्रीले आफूले सुनको कारोबार नै नगरेको दाबी गरेका छन् । प्रहरीले ४ किलो सुन लुटेको आरोपमा तपाईकै योजनामा खड्कालाई थुनामा राखेको स्वीकार गरेको छ नि भन्ने जिज्ञासामा उनले भने–मलाई सुनको बारेमा थाहा छैन । अरु कुनै ब्यापारीले ल्याएको होला । –दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्