Logo

उद्योगमा मौसमी उपसचिव



काठमाडौं, १७ मंसिर । उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले शाखाका निर्देशकहरु परिवर्तनको कसरत सुरु गरेका छन् । मन्त्रिमण्डल पुनर्गठनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा लेखराज भट्ट आइसकेका छन् । विभागमा यसअघिका महानिर्देशक विनोद सिंहको सेटिङ भएकाले उनले निर्देशकहरु परिवर्तन गर्न लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा घुस लेनदेनमा अति बदनाम भएपछि गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा तानिएर उद्योग मन्त्रालय हुँदै उद्योग विभागमा सरुवा भएका उपसचिव विनोद खड्का महानिर्देशक सिटौलाका निकट भएका छन् । उनी गएको जेठमा उद्योग विभागमा सरुवा हुने क्रममा मन्त्रालयमा कुटाकुट नै भएको थियो । उपसचिव खड्कामाथि आर्थिक लेनदेनकै आधारमा सरुवा भएको आरोप लागेको थियो ।

पहिला उग्र कांग्रेस निकट भएर आकर्षक कार्यालयमा सरुवा भएका खड्का २०७४ पछि चोला फेरेर नेकपाका कट्टर समर्थक भएका थिए । जुन पार्टी आयो त्यही पार्टीको निकट हुने अद्भूत कला भएका उपसचिवका रुपमा निजामती प्रशासनमा चिनिन्छन् । खड्का एकल विन्दु सेवा केन्द्रका प्रमुख र विभागको सुविधा तथा प्रशासन शाखाका प्रमुख हुन् । दोहोरो जिम्मेवारीले मात्र नपुगेर नपुगेर उनी उद्योग विभागको सर्वाधिक आकर्षक र घुस खाने विभागका रुपमा चिनिने अनुमति तथा दर्ता शाखाको प्रमुख हुने दाउमा छन् ।

मातृका यादव मन्त्री हुँदादेखि सचिवालयमा रहेका र भट्ट आएपछि पनि अनुनय विनय गरी थामिएका उपसचिव बैकुन्ठ सापकोटा पनि विभागमा सरुवा हुन चाहिरहेका छन् । उनी पनि विभागमा कमाउधन्दाका लागि जान मरिमेटेर लागेका छन् । औद्योगिक सम्पत्ति शाखा(पेटेन्ट, ट्रेडमार्क दर्ता) र अनुमति शाखाको प्रमुख प्रेमप्रसाद लुईटेल पनि नेकपा विशेष गरी पूर्वमाओवादी केन्द्रको आडमा उद्योग विभागमा अकूत कमाउनेभित्र पर्दछन् ।

रुपन्देहीबाट काठमाडौंको सहायक प्रजिअ भएर जिप्रका काठमाडौं आएका उनी त्यसपछि सामान्यको कर्मचारी प्रशासन शाखमा आए । रुपन्देहीमा हुँदा पनि लुँईटेल आर्थिक अपारदर्शीमा परेका कर्मचारी हुन् । लुईटेल डडेलधुराको प्रजिअ पनि भइसकेका गृहमन्त्रालयमा लामो समय कार्यरत उपसचिव हुन् । सामान्यबाट सेटिङमै उद्योग मन्त्रालयमा सरुवा भए । विनोद सिंहको कार्यकालमा निर्देशक लुईटेल उद्योग विभागका डिफ्याक्टो महानिर्देशकका रुपमा चिनिन्थे ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्