Logo

अनलाइन विज्ञापनबाट ठगी



काठमाडौं, १७ मंसिर । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ ।

यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिए। अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ ।

एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्