Logo

प्रहरीमा सरुवा बढुवाको दौडधुप



काठमाडौं, १७ मंसिर । उपनिर्वाचनको आचारसंहिताका कारण प्रभावित भएको नेपाल प्रहरीको सरुवा बढुवाको प्रक्रिया सुरु भएको छ । निर्वाचनको चटारो सकिएलगत्तै गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीको बढुवाको तयारी थालेको छ ।

गत ७ असोजको मन्त्रिपरिषद्को बैठकले प्रहरीको तीन हजार पाँच सय ९६ दरबन्दी थप नयाँ दरबन्दी स्वीकृत गरेसँगै ठूलो संख्यामा पदहरु रिक्त भएको हो । पद रिक्त भएको दुई महिनाभित्र बढुवा गर्नुपर्ने सर्वाेच्चको आदेश भएपनि त्यो कार्यान्वायन भने भएको छैन ।

सरकारले तीन एसएसपी, चार एसपी, २१ डिएसपी, ४७ इन्सपेक्टरको दरबन्दी थप गरेको थियो । तीन एसएसपीमध्ये एक प्राविधिक हुन् । प्रहरी संगित बिद्यालयमा एसएसपीको दरबन्दी सिर्जना गरिएको छ । त्यस्तै एक गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा अर्काे प्रहरी प्रधान कार्यालयका लागि दरबन्दी थप भएको हो । एसपीमा चार दरबन्दीमध्ये दुई सिभिल इन्जिनियरिङतर्फको छ । बाँकी दुईमध्ये एक पर्यटक प्रहरी तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि थपिएको थियो ।

८६ जना प्रहरी नायब निरीक्षक(सई), दुई सय ९७ सहायक प्रहरी निरीक्षक(असई), ६ सय ८३ हवल्दार, दुई हजार दुई सय १६ जवान र दुई सय ४२ कार्यालय सहयोगीको दरबन्दी थप गरिए पनि पूर्ति हुनसकेको छैन ।

प्रहरीमा पहिलेदेखि नै एसएसपीको एक पद रिक्त थियो । त्यस्तै एक महिनाभित्र चार एसएसपीले अवाश पाउने भएकाले त्यसपछि मात्र बढुवा हुने सम्भावना छ । जसअनुसार प्रशासनतर्फ एसएसपीका सात पद रिक्त हुनेछन् । जसमा चार गुणा धेरै आकांक्षीहरु छन् । वीरेन्द्र श्रेष्ठ र दिलीप बस्नेतले मंसिरमा तथा विभूतीराज पाण्डे र भोजजंग शाहले पुस २० मा अनिवार्य अवकाश पाउने भएकाले थप चार पद रिक्त हुन लागेका हुन् ।

सात पदमा यसअघि आफ्नो ब्याचमा छुटेकाहरु पर्ने सम्भावना छ । जसमा रविन्द्र केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, दुर्गा सिंह चन्द, जनक भट्टराई, केदार ढकाल लगायत छन् । त्यस्तै हृदय थापा, अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंहलगायत पनि दौडधुपमा लागिसकेका छन् ।

त्यस्तै एसपीका ११ पद रिक्त हुने छन् । एसपी बढुवाको दौडमा पनि ३० भन्दा धेरै एसपीहरु छन् । जसमा ब्याचटपर भएर पनि अघिल्लोपटक छुटेका ऋषिराम कँडेल र भुवनेश्वर तिवारी निर्विकल्प छन् ।

त्यस्तै प्रकाश मल्ल, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, रामप्रकाश शाह, प्रवीणलाल श्रेष्ठ, वेद विष्ट, प्रभुप्रसाद ढकाल, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, अमरेन्द्र बहादुर सिंह, सुरेशप्रसाद काफ्ले, नकुल पोखरेल, प्रेमबहादुर बस्नेत, ज्ञानेश्वरप्रसाद फुँयाल बढुवाका प्रतिस्पर्धी हुन् । त्यस्तै महेन्द्र खड्का, दीपक पोखरेल, सञ्जयसिंह थापा, राजकुमार सिलवाल, श्यामसिंह चौधरी, वासुदेव खतिवडा, होविन्द्र बोगटी, पदमबहादुर विष्ट, प्रवीण धिताल, दीपेन्द्र शाह, दीपेन्द्र शाही, महेन्द्रकुमार श्रेष्ठ, दयानिधि ज्ञवाली र राजेन्द्रबाबु रेग्मी लगायत डीएसपीहरु एसपीका लागि प्रतिस्पर्धी छन् ।

त्यस्तै यसपटकको डिएसपीको बढुवामा नयाँ ब्याचका इन्सपेक्टरहरु समेत शक्तिकेन्द्र धाउन थालेका छन् । अवकाशअघि सबै पदमा बढुवा गर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको तयारी छ ।

त्यस्तै मेट्रो र महानगरीय प्रहरी कार्यालया डिआईजी पनि हेरफेर गर्ने गृह मन्त्रालयको तयारी छ । मेट्रोमा सरुवाका लागि विश्वराज पोखरेलले दाबी गरेका छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्