Logo

दोषीलाई नछाड्नु भन्दै बिदा भईन सुस्मा



काठमाडौं । “मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो”, केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्मा केसीले भनेका थिए । तर पीडक दोषी प्रमाणित भए पनि उनको यो सपना भने अब कहिल्यै पूरा हुने छैन ।

काठमाडौँको होटलमा जबर्जस्ती शारीरिक सम्बन्धको व्यवसायी व्यवसायमा लगाइएकी उनी सदाका लागि बिदा भएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उनको सोमबार दुःखद् निधन भएको छ । यद्यपि अस्पताल श्ययाबाट उनले दिएको बयानका आधारमा प्रहरीले घटनाको अनुसन्धान जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दयनीय अवस्थामा काठमाडौँ बालाजुको माछापोखरीस्थित सडकबाट उद्धार गरिएकी २२ वर्षीया सुष्माको बोली टाठै थियो तर, ज्यान भने गलिसकेको थियो । जीवनको अन्तिम अवस्थासम्म उनले आफ्नो पीडा र चाहना सबैमाझ सुनाएकी थिइन् । प्रहरीसँगको बयानमा आफूलाई यौन व्यवसायमा लगाउने व्यक्ति भनेर उनले केही मान्छेको नाम उल्लेख गरेकी थिइन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

“उनले धेरैपटक आफूलाई पीडा दिने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ भनेका थिए , रातदिन नभनी उनको जीवन बचाउन विभिन्न अस्पताल लग्यौँ, तर रोगले गलिसकेको अवस्थामा फेला परेकाले बचाउन सकिएन”, पछिल्लो समयमा उनको रेखदेख गर्दै आएको मानव सेवा आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने ।

उनको सानैमा बिहे भएको थियो । दुई सन्तान जन्मिए । श्रीमान्को मृत्युपछि एक महिलाले खाना पकाउने काममा लगाइदिने भनेर काठमाडौँ ल्याएकी थिइन् । केही समय खाना पकाउने काम लगाएपछि होटलले यौन क्रियाकलापमा लगाएको अस्पताल बेडमा रहँदा सुष्माले बताएकी थिइन् । त्यो बेला मदिरासँगै केही धुलोजस्तो खुवाउने गरेकाले ग्राहक आए पनि के गर्छ भन्नेसम्म आफूलाई थाहा नहुने गरेको उनले भनेकी थिइन् ।

होटलमा यौनतृप्तीका लागि नेपालीदेखि विदेशी पनि आउँथे । नमान्दा तातोपानी खन्याएर यातना दिने गरेको पीडा उनले बताएकी थिइन् । उनको शरीरभरि चुरोटले पोलेको र तातोपानीले डामेको घाउ प्रसस्तै देखिन्थो । महानगरीय प्रहरी परिसरका अनुसार केही वर्षअघि एक महिलाले होटलमा काम गर्ने भनेर काठमाडौँ ल्याएर उनलाई छाडेकी थिइन् । प्रहरीका अनुसार उनी आन्तरिक बेचबिखनमा परेकी थिइन् । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनको बयानका आधारमा चार जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

“ज्यानभरि चुरोटैचुरोटले पोलेको अवस्थामा भेटिएको थियो, अस्पतालमा उपचार गराइरहेका थियौँ, कलेजो नै ड्यामेज भएकाले उपचार प्रयास असफल रह्यो”, प्रहरी नायब उपरीक्षक बोगटीले भने । उनको निधन भए पनि आवश्यक प्रमाण जुटाइसकेकाले घटनाको अनुसन्धान भने जारी रहने उनले बताए । उनी झण्डै दुई वर्षदेखि यसरी काठमाडौँमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ ।

कलेजोले काम नगरेको र पेट फुल्ने गरेकाले दैनिक पानी निकाल्ने गरिएको थियो । अस्पतालमा उच्च प्रोटिन दिएर राखिएको थियो । गम्भीर अवस्थामा माछापोखरीस्थित सडकमा महिला रहेको खबर आएपछि मानवसेवा आश्रमले गत कात्तिकमा उद्धार गरी उनलाई अस्पताल पु¥याएको थियो ।

प्रहरीले अहिलेसम्म उनको परिवार पनि फेला पार्न सकेको छैन ।

उनको उपचार कै क्रममा सोमबार वीरअस्पतालमा निधन भएको छ । उनको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले परिवारको खोजी जारी रहेको र पत्ता लागेपछि शव बुझाउने बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्