Logo

बागलुङमा जिप दुर्घटना १४ को मृत्यु, एक बेपत्ता



काठमाडौँ, १८ मंसिर । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा १४ जनाका ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण ओभरलोड र तीब्र गति भएको प्रहरीले जनाएको छ ।

इस्माबाट २६ जना यात्रु बोकेर आएको उक्त जीपलाई मध्यपहाडी लोकमार्गअन्र्तगत भीमगिठे प्रहरी चौकीले रोकेर आठ जना यात्रुलाई झार्न लगाएकाले उनीहरु दुर्घटनामा बच्न सफल भएको बताइएको छ । ‘कुलपूजामा सहभागी हुन जीप रिर्जभ गरेर ल्याएका रहेछन, जीप भित्र र जीपको छतमा खचाखच मानिस बोकेर हिडेको देखेर प्रहरीले जीप रोकेर अन्य सवारीमा जान भनेकैले आठ जना दुर्घटनाबाट बचे ।’ स्थानीय पत्रकारले बताए। प्रहरीले बढी यात्रु लैजान नदिएपछि जीपका सहचालक कर्णबहादुर हिकाम लगायत आठ जना उक्त जीपबाट झरेर अन्य सवारीमा गएका थिए । जीपबाट झरेका डम्मर कार्कीले आफूहरू जीपबाट झरेर दुर्घटनाबाट बच्न सफल भएपनि आफ्ना दाजु महेन्द्र कार्की लगायत १४ जनालाई गुमाउनुपरेको बताए। भिमगिठे प्रहरी चौकीका सई रिनबहादुर बैदवारका अनुसार बढी लोड र तीव्र गतिका कारण जीप दुर्घटना भएको बताए।

दुर्घटना लगत्तै पूर्व मन्त्री एवं गुल्मीका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए । हेलिकोप्टरमार्फत घाइतेको उद्दार गरी काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिए। कुलपूजाका लागि हिडेका इस्मा गाउँपालिकाका धेरैको मृत्यु भएपछि गाउँ शोकमा छ, घाइतेलाई पूर्व मन्त्री विष्ट आफै घटनास्थलबाटै उद्धार गरेर शिक्षण अस्पताल ल्याएका थिए ।’ गुल्मीको इस्मा गाउँपालिका वडा नं। ४ पैयुपाटाबाट बागलुङको निसीखोला गाउँपालिका वडा नं। २ को बायखोलामा कुलपुजामा सहभागी हुन यात्रु बोकेर जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाढ गाउँपालिका वडा नं। ७ को कोप्चेको भिरमा दुर्घटना भएको थियो । बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार घाइते तीनै जनालाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडांै पठाइएको जानकारी दिए ।

दुर्घटनामा परी जीपका चालक गुल्मी इश्मा गाउँपालिका– ५ का रेशम थापा, माया थापा, बसुन्धरा कार्की, इश्मा– ४ का सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, झवि कार्की, महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका– १ का मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका– ७ का नरमाया खत्री र कञ्चनपुरका धनबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा परि नवलपरासी बर्दघाट नगरपालिका– २ का जीवन कार्की, गुल्मी इश्मा– ४ का हिमाल कार्की र निमा केसी गम्भिर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ । जीप सवार इस्मा– ४ का धनबहादुर कार्की वेपत्ता रहेको प्रहरीले जनाएको छ । करिब सडक देखि करिब एक सय ५० मिटर तल बडिगाढ खोलामा बजारिएको उक्त जीपमा रहेका कार्की उछिट्टीएर बडिगाढ खोलामा बगेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य तिव्र बनाएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्