Logo

दाहालले बोलाए सचिवालय बैठक



काठमाडौं, १८ मंसिर । नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन्। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’ २०७५ जेठ ३ मा तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गरिरहेका थिएनन्। पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय बहसमा थियो। दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–दाहालबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने गरी मंसिर ४ मा ओली–दाहालको कार्य विभाजन भएको थियो। दाहालले यसअघि पार्टी एकताको १८ महिनाको बीचमा एकपटक मात्र पार्टी बैठकको अध्यक्षता गर्न पाएका थिए। प्रधानमन्त्री ओली ‘प्लाज्मा फेरेसिस’ का लागि सिंगापुरमा रहेका बेला दाहालले बैठक बेलाएका थिए।

दाहालले अहिले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेतासँग छलफल गरेर बैठक बोलाएका हुन्। उनले मंगलबार बिहान वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ र दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग संवाद गरेका थिए। ‘आगामी बैठकका एजेन्डा तय गर्नका लागि बुधबार सचिवालय बैठक बोलाइएको हो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनु अघिल्लो दिन अर्थात् मंसिर ९ मा तीन शीर्ष नेताहरू ९ओली, दाहाल र विष्णु पौडल० बीच जुटेको संगठनात्मक एकताका बाँकी कामको सहमति र उपचुनावको समीक्षामा बैठक केन्द्रित हुने नेताहरूको भनाइ छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमै बस्नेछ।

‘पार्टीका दुवै वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल देशबाहिर थिए । उनीहरू देशमा आइसकेको छ । प्रधानमन्त्रीसँग पनि सल्लाह भएर पार्टी बैठक बस्दै छ,’ स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘अब पहिला सचिवालय, त्यसपछि स्थायी समिति र केन्द्रीय समिति क्रमशः बस्छ।’ नेकपाभित्र लामो समयदेखि पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक नसक्दा पार्टीभित्रै असन्तुष्टि चुलिँदै जान थालेको छ। केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक निर्वाचन आयोगमा दल दर्ताका लागि मात्र बसेको छ। स्थायी समिति गत वर्ष ९मंसिर २९ देखि पुस १३ सम्मदेखि बस्न सकेकै छैन। दाहालले यी दुवै बैठक पनि सचिवालय बैठकपछि राख्ने तयारी गरेका छन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्