Logo

‘हेलिकप्टर’बाट रतुवाको सिङ तस्करी



काठमाडौँ, १८ मंसिर । सिम्रिक एयरलाइन्सको हेलिकप्टरमार्फत गोरखाबाट काठमाडौं आएकी एक महिला संरक्षित वन्यजन्तु रतुवाको अंगसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । प्रहरीले हुम्लाको ताजाकोट गाउँपालिका–५ ९साविक मदना गाविस–९० की २९ वर्षीया महिला सम्झना बुढालाई रतुवाको सिङसहित विमानस्थलको एक्सरे मेसिन एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

सिम्रिक एयरले ती महिलालाई गोरखाको घापबाट ल्याएको थियो । विमानस्थल प्रहरी प्रमुख डीआईजी सूर्य उपाध्यायले मंगलबार बिहान ९स्१० मा ती महिलालाई वन्यजन्तुको अंगसहित पक्राउ गरिएको जानकारी दिए । बुढाले बोरामा राखेर वन्यजन्तुको अंग ल्याएकी थिइन् । बरामद सिङ जिल्ला वन कार्यालय काठमाडौंको जिम्मा लगाइएको छ । ‘गृह मन्त्रालय वा नागरिक उड्डयन प्राधिकरण कसले हेलिकप्टरलाई उडान अनुमति दिएको हो र के प्रयोजनका लागि गएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उपाध्यायले कान्तिपुरसित भने । हेलिकप्टरबाटै संरक्षित वन्यजन्तुको अंग तस्करी हुनु गम्भीर विषय भएको उनले बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सिम्रिक एयरले मनास्लु संरक्षित क्षेत्रको घापमा उडान गर्न आफूबाट कुनै अनुमति नलिएको बताए । गोरखाका जुनसुकै स्थानमा उडान परे पनि अन्य हेलिकप्टर कम्पनीले उड्नुअघि प्रशासनलाई जानकारी गराउँदै आएको उनले बताए । ‘मंगलबार बिहान सिम्रिक एयरको हेलिकप्टर मनास्लु संरक्षण क्षेत्रमा पर्ने घापमा गएको रहेछ, यसबारे मैले साँझ मात्रै थाहा पाएँ,’ प्रजिअ लामिछानेले भने, ‘अनुमति नै नलिई गएको हेलिकप्टरबाट संरक्षित वन्यजन्तुका अंग फेला पर्नुले अपराध कुन कुन क्षेत्रबाट हुन्छ भन्ने कुरा थप स्पष्ट पारेको छ ।’

लामिछानेले हेलिकप्टरबाट वन्यजन्तुका अंग तस्करी भएको विषयमा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताए । जिल्ला प्रशासन कार्यालय गोरखाले एक महिनाअघि पनि अनुमति नै नलिई मनास्लु संरक्षित क्षेत्रमा उडान भरेको आरोपमा सिम्रिक एयरलाइन्सलाई कारबाही गर्न गृहलाई पत्र पठाएको थियो । ‘गोरखा जिल्ला प्रशासन कार्यालयबाट सिम्रिक एयरलाइन्सलाई कारबाहीको सिफारिससहित एक महिनाअघि पत्र आएको छ,’ गृह स्रोतले भन्यो, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्