Logo

प्रधानमन्त्री अस्पतालमा, सल्लाहकारहरुको बैठक सिंहदरबारमा



काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला अस्पतालमै आराम गरिरहेका छन् । एपेन्डिसाईसिटसको शल्यक्रिया पछि प्रधानमन्त्री यतिवेला मनमोहन कार्डियोथोरासिस एण्ड भास्कुलर सेन्टरमा आराम गरिरहेका छन् । अस्पतालमा आराम गरेपनि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी बरिष्ठ मन्त्रीहरुसँग नियमित छलफल तथा परामर्श गरिरहेका छन् ।

प्रधानमन्त्रीले नियमित छलफल गर्ने मन्त्रीहरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत छन् । उनीहरुसँग सरकारको महत्वपूर्ण निर्णय लगायतका बारेमा छलफल गर्ने गरेका छन् । नेकपानिकट उच्च स्रोतले प्रधानमन्त्री यतिवेला आफ्नो रणनीति अस्पतालबाटै बनाईरहेको दाबी गरेको छ ।

सरकार र पार्टी सञ्चालनबारे ओलीले अस्पतालमा बस्दापनि छलफल तथा परामर्श गर्न भने छोडेका छैनन् । उता, ओलीका सल्लाहकारको टिम पनि सिंहदरबारमा छलफलमा व्यस्त भैरहेको छ । प्रधानमन्त्रीको भीजन कार्यान्वयनको लागि पनि सल्लाहकारहरु नियमित बैठकमा बस्ने गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नेतृत्वमा, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापालगायतका सल्लाहकारहरुको दैनिक बैठक बसिरहेको छ । ओली अस्वस्थ भएपछि पछिल्लो साता मन्त्रिपरिषदको बैठकसमेत बस्न सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्