Logo

३१ देशका राजदुतलाई पर्यटनमन्त्रीको आग्रह पर्यटक नेपाल पठाइदिनुहोस्



काठमाडौं, १९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्थाप्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भने, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।’ अब सरकारको विदेश सम्बन्धममा पर्यटन कुटनीति पनि महत्वपूर्ण पाटो रहने उनको भनाई रहेको पर्यटन मन्त्रीको नीजि सचिवालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण हुन भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सुचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे। ‘नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस् । मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिनु हुदंै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका अनुरोध समेत गरे। मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, महाभुकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’ मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए। बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्रवान गरेका थिए ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए। आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माण गर्नेछौं’ उनले भने, यहीबाटोबाट हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गरेको सुखी नेपालीः समृद्ध नेपाल’को सपना पुरा गर्नेछौं ।’ मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिदै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए । मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरीरहेको उल्लेख गर्नु हुदै अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए।

मन्त्री भट्टराईले आगमी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए। त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको बिषयमा लगानी बोर्डले काम गरिरहेको बताए । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिदै भने, तपाईहरु मार्फत म यो जानकारी तपाईहरुको देशका वायु सेवा कम्पनीलाई गराउन चहान्छु ।’
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्