Logo

बजेट ल्याउनै सकेनन् स्थानीय तहले



काठमाडौँ, १९ मंसिर । सिन्धुली जिल्लामा रहेका नौवटै स्थानीय तहले गत आर्थिक वर्षमा गरेको खर्च विवरण पेस नगर्दा प्रदेश सरकारले दिने बजेट ल्याउन सकेका छैनन् ।

गत आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारबाट स्थानीय तहले पाएको बजेटको खर्च विवरण चालू आर्थिक वर्ष २०७६÷७७ को पाँच महिना बित्न लाग्दा पनि पेस नगर्दा पहिलो किस्ता बजेटसमेत ल्याउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी सुरेश दाहालका अनुसार स्थानीय तहले गत आर्थिक वर्षमा प्रदेश सरकारबाट पाएको बजेटको खर्च विवरण पेस गरेपछि मात्रै चालू आर्थिक वर्षको प्रदेश सरकारको बजेटको पहिलो किस्ता पाउने व्यवस्था छ ।

किन हो स्थानीय तहले प्रदेश सरकारतर्फको बजेटको गत वर्षको खर्च विवरण अहिलेसम्म पेस गरेका छैनन्, उनले भने, नौवटै स्थानीय तहलाई चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट आउने कुल नौ करोड २२ लाख पाँच हजार रुपियाँ छ । यो बजेटको पहिलो किस्ता अहिलेसम्म स्थानीय तहले पाउन सकेका छैनन् । खर्च गर्ने समय अझै पर्याप्त रहेकाले उनीहरूले बजेट लान ढिलाइ गरेको हुनसक्ने उनले बताए। बजेट पाएपछि कति रकम पँुजीगत र कति रकम चालू बनाउने हो, स्थानीय सरकार आफैँमा निर्भर रहन्छ । उनका अनुसार प्रदेश सरकारले यो बजेट गत आर्थिक वर्षमा सीधै स्थानीय तहको खातामा निकासा गरिदिएको थियो तर यो वर्ष भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत निकासाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहलाई थाहा नभएर पनि प्रदेश सरकारले दिने बजेट खोज्न नआएको र सीधै आफ्नो खातामा निकासा हुन्छ भनेर ढुक्क भएर बसेको हुनसक्ने उनको भनाइ छ । त्यस्तै चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्राप्त हुने बजेटको पहिलो किस्ता भने सबै स्थानीय तहले लगेर खर्च गरिसकेका छन् । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सङ्घीय सरकारको पहिलो किस्ता बजेटको खर्च विवरण पेस गरी दोस्रो किस्ता सुनकोसी गाउँपालिकाले लगिसकेको छ भने कमलामाई नगरपालिका र दुधौली नगरपालिका लैजाने प्रक्रियामा छन् ।

पहिलो चौमासिकमा कमलामाई नगरपालिकाले १३ करोड ६४ लाख २५ हजार, दुधौली नगरपालिकाले ११ करोड ८९ लाख २५ हजार, घ्याङलेख गाउँपालिकाले चार करोड १० दाख ५० हजार, सुनकोसी गाउँपालिकाले छ करोड २९ लाख, फिक्कल गाउँपालिकाले पाँच करोड ६२ लाख २५ हजार, गोलान्जोर गाउँपालिकाले छ करोड १३ लाख २५ हजार, मरिन गाउँपालिकाले पाँच करोड ८५ लाख २५ हजार, हरिहरपुरगढी गाउँपालिकाले पाँच करोड ५६ लाख ५० हजार र तीनपाटन गाउँपालिकाले नौ करोड चार लाख २५ हजार रुपियाँ सङ्घीय सरकारको बजेट निकासा गरी लगेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्