Logo

जहाजमा बँदेल ठोक्कियो



काठमाडौँ, १९ मंसिर । नेपालगञ्ज विमानस्थलमा नजिक रहेको झाडीबाट निस्केको बँदेल विमानस्थलमा रहेको बुद्ध एयरको जहाजमा ठोक्किएको छ । मङ्गलबार साँझ ६।२५ बजे बुद्ध एयरको काठमाडौँबाट नेपालगञ्ज अवतरण गर्न लागेकै बेला जहाजसँग बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए।

शाहका अनुसार जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ भने जहाज र यात्रुलाई कुनै क्षति हुन पाएको छैन । जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरिरहेकै बेला त्यही नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको शाहले बताए। यस घटनाबाट कुनै क्षति भने नभए पनि जङ्गली जनावरकै कारण अब सो विमानस्थलको सुरक्षामा ठूलो चुनौती थपिएको बुद्ध एयरले जनाएको छ । झाडी सफा गर्ने ठेक्का लिएको कम्पनीले काम नगर्दा नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ । धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल रनवेमा पस्ने गरेका छन् । यसअघि पनि दुईपटक जति जङ्गली जनावरले विमानलाई समस्यामा पारेका थिए । धावन मार्ग नजिक रहेको झाडीबाट निस्किने जङ्गली जनावरका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको नेपालगञ्जस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ । यसअघि धेरैपटक विमान ल्यान्ड गर्ने क्रममा जङ्गली जनावर रनवे आसपासमा देखिँदा केहीबेर जहाजलाई आकाशमै उडाई सुरक्षाकर्मीले जङ्गली जनावरलाई लखेटेको सो कार्यालयले जनाएको छ ।

विमानस्थलको धावन मार्गमा कालोपत्र थप्ने र आसपासको झाडी सफा गरेर नाली निर्माण गर्ने भनी पप्पु लुम्बिनी एपेक्स जेभीले लिएको ठेक्काअनुसार २०७४ माघ २ गतेसम्म सबै काम पूरा गर्नुपर्ने भए पनि धावन मार्गको ओभर–ले गर्नेबाहेक झाडी सफा गर्ने र नाली निर्माण गर्ने काम केही पनि हालसम्म गरिएको छैन । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार पप्पु लुम्बिनी एपेक्स जेभीले २०७३ साल पुस १७ गते विमानस्थलको धावनमार्गमा ओभर–ले, विमानस्थल क्षेत्रमा रहेको झाडी सफा गर्ने, नाली निर्माण गर्ने ठेक्का पाएको थियो । करिब १३ करोड रुपियाँको लागतमा २०७४ माघ २ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको पप्पु लुम्बिनी एपेक्स जेभीले करिब ७० प्रतिशत काम गरेर बाँकी काम दुई वर्षदेखि अलपत्र पारेको उनले बताए। सोही कुरालाई लिएर अहिले आफू काठमाडौँ केन्द्रीय कार्यालयमा गएको जनाउँदै उहाँले सो विषयमा निर्माण कम्पनीसँग पनि कुरा भइरहेको बताए । एक साताभित्र काम सुरु गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको जानकारी गराउँदै प्रमुख ठाकुरले काम सुरु नगरिए त्यसको विकल्प खोजेर अगाडि बढ्ने कुरा तय भएको बताए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्