Logo

सभामुख हाम्रो पार्टीलाई दिनुपर्छ : प्रमुख सचेतक अरगरिया



काठमाडौं, १९ मंसिर । सत्तारुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहने स्पष्ट पारेका छन् । उनले भने,‘सभामुखमा मधेशी, आदिवासी, जनजाति हुनुपर्छ, हाम्रो पार्टीलाई सभामुख दिईनुपर्छ ।’ उनले संसदको हिउँदे अधिवेशनपनि छिटोभन्दा छिटो बोलाउनुपर्ने बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अरगरियाले संसद सुचारुको विषयमा संविधानमा र प्रतिनिधिसभाको नियामावलीमा बेग्लाबेग्लै व्यवस्था गरिएको पनि सुनाए । उनले भने,‘संसदको सुचारु गर्न र अन्त्य गर्न सभामुख नै चाहिने व्यवस्था नियमावालीमा गरिएको छ । संविधानमा पनि त्रुटि छ, त्यसैले संविधान संशोधन गर्न अति नै आवश्यक छ ।’ उनले पहिले पहिले हिउँदे अधिवेशन पुस १३ गते सुचारु गरिएको दृष्टान्त पेश गरे । तर, यसपटक सभामुख नभएको अवस्थामा हिउँदे अधिवेशन केही ढिलो हुनसक्ने उनको भनाई छ ।

तर, हिउँदे अधिवेशन बोलाउनको लागि सभामुखको जरुरी नै नभएको उनको तर्क छ । उनले भने,‘संसद सचिवालयले सरकारलाई पत्राचार गर्ने हो, सरकारले मन्त्रिपरिषदको बैठक राखेर राष्ट्रपतिलाई सिफारिश गर्ने हो । राष्ट्रपतिले त्यसपछि मिति आह्वान गर्ने हो । हिउँदे अधिवेशन बोलाउने प्रक्रियामा कुनै बञ्चित छैन्।’ देशमा विद्यमान समस्याहरुको समाधानको लागि पनि छिटो भन्दा छिटो हिउँदे अधिवेशन बोलाउनुपर्ने उनको माग छ । उनले भने,‘यसबारेमा म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

आफ्नो पार्टीको हालै बसेको केन्द्रिय कार्यसमितिको बैठकमा पनि सीमा अतिक्रमणबारे छलफल भएको सुनाउँदै उनले यसबारेमा सरकारले कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्ने सुझाव दिए । उनले भने,‘लिपुलेक, कालपानी हाम्रो हो, सरकारले कुटनीतिक तवरले समस्याको हल गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्