Logo

युक्रेनमा भिषण आगलागीः १४ बेपत्ता, २७ घाइते



किभ,मंसिर १९ । युक्रेनमा भएको आगलागीमा परि १४ जना हराइरहेका छन् ।युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह सहरमा भएको आगलागीमा परेकाहरुको केही पत्ता नलागेको अन्र्तराष्ट्रिय समाचारमा जनाइएको छ ।

ओडिसाको मध्य भागमा रहेको एउटा कलेजको भवनमा बुधबार आगलागी भएको र हराएकाहरु विद्यार्थी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

आगलागीमा परी १६ बर्षिया एक छात्राको मृत्यु भएको पुष्टि भएको छ भने अरु २७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको शरीरका धेरै भाग जलेका अवस्थामा अस्पतालमा उपचार भैरहेको छ ।

आगलागी भएको छ तले घर भित्र रहेका ती विद्यार्थीहरु जीवितै छन् की भनेर सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले खोजी कार्य जारी राखेका छन् ।

बिहीबार विहानैदेखि अग्नि नियन्त्रकहरूले पनि आगो निभाएर भग्नाबशेष अवस्थाका पर्खाल तथा अन्य सामानहरु हटाउने कार्य गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

खोजी तथा उद्धारमा खटिएकामध्ये सात जना अग्नि नियन्त्रकहरु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।घटना भएको शोकमा ओडिसाका नगरमा बिहीबार र शुक्रबार शोक मनाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्