Logo

राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्ने : मन्त्री अर्याल



२१ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५: ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उनले आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी काम गर्न आग्रह गरे ।

राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले उच्च मनस्थिति र सेवा भावनाका साथ कार्य क्षेत्रमा लाग्न अनुरोध गरे । मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति निर्माण गरेको बताउँदै उहाँले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका सचिव सूर्यप्रसाद गौतमले कर्मचारीले जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रजिअ रमेशकुमार केसीले आधुनिक प्रविधियुक्त सेवालाई प्रभावकारी बनाइँदै लगिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्