Logo

शेखर कोइरालाको ड्युटी नै शेरबहादुर देउवालाई गाली गर्ने भयो-मोहनबहादुर बस्नेत, नेता, नेपाली कांग्रेस



काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत सभापति शेरबहादुर देउवा निकटस्थ हुन् । उनले देउवाको विरोध गर्नेको कडा आलोचना गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
मंसिर २६ गते बस्दै गरेको बैठकको एजेन्डा के हो ?
यस बैठक मुख्य एजेन्डा भनेको भर्खरै सम्पन्न उपनिर्वाचनको समीक्षा र पार्टीका भ्रातृ र शुभेच्छुक संघ संस्थाको अधिवेशनका सम्बन्धमा छलफल गर्ने हो ।
शेरबहादुर देउवा सभापति भएपछि पार्टी लथालिंग भयो भनेर डा. शेखर कोइरालाले भन्नुभयो नि ?
डा. शेखर कोइरालाको पार्टीभित्र कुनै लगानी नै छैन । लामो समय जोगिर खाएको बसेको मान्छे । अहिले उहाँलाई सभापति हुने रहर छ । अनि शेरबहादुर देउवालाई गाली गर्ने शिवाय उहाँको ड्युटिनै छैन ।
तर, कांग्रेसमा त कोइराला परिवारको ठूलो लगानी छ नि ?
कोइराला परिवारको योगदान छ जसको उसले लाग्नुपर्यो नि । डा. शशांक कोइरालाले भन्दा अलि पच्छ, डा. शेखरले बाहिर जुन कुरा राखिरहनु भएको त्यो पार्टीभित्र पच्ने छैन ।
शेखर कोइरालाको भूमिका छैन र कांग्रेस बनाउन ?
उहाँले लामो समयसम्म जागिर खाएर बस्नुभयो । जागिर सकिएपछि पार्टीमा लाग्नुभएको हो । उहाँले न जेलनेल भोगेको, न पार्टीमा दुःखपाको । उहाँ अहिले जसरी प्रस्तुत हुनुभएको छ, त्यो सुहाउँदिलो छैन ।
सभापतिको उम्मेदवारमा त शेखर कोइराला उपयुक्त हो भन्नेहरु पनि छन् नि ?
कुनै–कुनै कार्यकर्ताहरुलाई मन परेको पनि हुन सक्छ । नेपाली कांग्रेस जस्तो पूर्ण प्रजातान्त्रिक पार्टीमा यस्ता कुराहरु राख्न पाइन्छ ।
शान्तिप्रक्रिया टुंगोमा पु¥याउन गिरिजाप्रसाद कोइरालासँगै उहाँको ठूलो योगदान रह्यो भन्ने कुरा पनि आएको छ नि ?
म पनि पार्टीमा काम गरेको ४५ वर्ष भयो । मैले पार्टीमा काम गर्दा उहाँ जागिरे जीवन नै बिताइरहनुभएको थियो । पारिवारिक हिसावले उहाँ दुःख गरेको परिवारको मान्छे हो । योगदानका कुरा गर्दा मलाई त्यस्तो लाग्दैन ।
आगामी महाधिवेशनमा पनि सभापतिमा शेरबहादुरले उम्मेदवारी दिनुपर्छ भन्ने हो ?
हो ।
किन उहाँलाई जनताले त रुचाएका छैनन् त ?
पार्टी धेरै योग्यता, क्षमता, त्याग, तपस्या गरेको नेताहरु पनि हुनुहुन्छ । त्यति हुँदाहुँदै पनि भएमध्येको अहिलेको परिस्थितिमा समन्वयकारी भूमिकामा दख्खल भएको मान्छे हो । विगतमा ५-६ वटा पार्टीलाई मिलाएर सरकार पनि चलाएर आएकै हो । अहिले कम्युनिस्टबाट संविधानको धज्जी उडाउने काम भइराखेको छ । त्यसलाई जोगाउन दरिलो ढंगले लाग्ने नेता उहाँ हो ।
भ्रातृ संस्थाहरु पनि लथालिंग भए, कार्यसम्पादन समितिसम्म गठन गर्न सक्नुभएन, भन्ने आरोप छ नि ?
कार्यसम्पादन समिति गठन गरेको हो । पार्टीका एक खाले नेताहरुले यो भंग गर्नुपर्छ भन्नुभयो, अनि भंग भयो । असफल मान्छे चार पटक प्रधानमन्त्री हुनै सक्दैन । यो देशमा स्व. गिरिजाप्रसाद कोइरालापछि दोस्रो भूमिका रहनुभएको नै शेरबहादुर देउवा हो । यदि उहाँ असफल हो भने २०४८ सालदेखि अहिलेसम्म एक पटक चुनाव हार्नुभएको छैन । अरुले कति पटक हारे, कति पटक जिते ? जहाँ पार्टीभित्र विभाग बनेको छैन, भ्रातृ संस्थाहरु व्यवस्थित गर्न सकिएको छैन । त्यसमा केही कमीकमजोरीहरु छन् ।
कांग्रेसको महाधिवेशन भएको फागुनमा चार वर्ष हुन्छ नि ?
कम्युनिस्टहरुको महाधिवेशन नगरेको कति वर्ष भयो ? हेर्नुस् न । अरुको देखाएर सुखपाइँदैन । यसमा कमीकमजोरीहरु छन् । यो कमजोरी पनि उहाँको मात्रै होइन, फरक मत राख्ने नेताहरुसँग लिष्ट दिनुस् भनेर लामो समय पर्खँदा ढिला भएको हो । अब २६ गते बस्ने केन्द्रीय कमिटिले माथि देखिएका कमीकमजोरीहरुलाई अगाडि बढाउने कुरा विश्वस्त गराउन चाहन्छु ।
उरुसँग कुरा नमिले पनि सभापतिले विभाग गठन गर्नुहुन्छ ?
कुरा मिलिहाल्छ नि । उहाँहरुले ४० प्रतिशत माग गर्नुभएको छ, त्यो लिस्ट दिनुपर्छ । त्यसमा सभापति पनि सहमत हुनुहुन्छ ।
उहाँहरुले लिस्ट दिनु भएन भने के गर्ने ?
दिनुभएन भने सबैले विधान संवत पार्टी चलोस् भनेको खण्डमा सोही अनुसार पार्टी अगाडि बढ्छ ।
सहमति बिना अगाडि बढ्दा सभापतिलाई गाह्रो होला नि ?
नेतृत्वमा बसेर कसरी चित्त बुझाउने त्यतिकै गाह्रो हो, त्यसमाथि पार्टी चलाउने कुरा झनै गाह्रो कुरा हो । सरकार चलाउने चिज पनि गाह्रो नै होला । गाह्रो नभए त जो पनि भइहाल्थ्यो नि । त्यसकारण त्यस्ता गाह्रोलाई थेग्न सक्नुपर्छ ।
सभापतिको क्रियाकलापले कार्यकर्ताको मनोबल त उच्च भएको छैन नि ?
राम्रोसँग हाँकेको रेकर्ड त कि हामीले वीपी कोइराला नै सम्झनुपर्यो । त्यसबेला पनि मातृका प्रसाद बेला–बेला ठासठुस गरिरहनुहुन्थ्यो । पछि गएर गिरिजाबाबुले पनि पार्टी चलाउनुभयो त्यति बेला पनि गणेशमान, किसुनजी जस्ता हाम्रो नेताहरु हविगतमा पर्नुभएको थियो । सुशील दाइको पालामा पनि यस्ता कुरा भइराखेका हुन् ।
२६ गतेको केन्द्रीय कमिटिपछि विभाग गठन हुन्छ भन्नुभयो हो ?
त्यसमा पनि सहमति खोजिन्छ । सहमति भएन भने त पार्टीको विधानअनुसार अगाडि बढ्नुप¥यो ।
उहाँले फेरि पनि सभापतिको उम्मेदवार दिने आधार के छ ?
उहाँ सधैंभरि जनताबाट पनि अनुमोदित भइरहनु भएको र भएका नेतामध्ये उत्कृष्ट भएको फेरि पनि सभापति हुनुपर्छ ।
राजाले त्यतिबेला अक्षम भनेको हो नि ?
राजाले अक्षम भनेर के गर्ने । राजा पाखा लागे । शेरबहादुर पटक–पटक चुनाव जित्नुभएको छ । प्रधानमन्त्री भइरहनुभएको छ । चुनाव जितेर पार्टी सभापति भएर बस्नुभएको छ । राजाको अनुकूल नभएकाले अक्षम भनेको न हो ।
प्रजातन्त्र दरबार बुझाएको आरोप पनि छ नि उहाँमाथि ?
दरबारलाई प्रजातन्त्र बुझाएको भए त शेरबहादुर देउवालाई राजाले कार्पेट बिछ्याएर राखिहाल्थे नि । रातिको १२ बजे अपहरणको शैलीमा लगेर थुन्थे ? यो त विरोधी लगाउने आराप मात्र हो ।
रामचन्द्र, सशांक, शेखर र प्रकाशमान अनि शेरबहादुरको प्रतिस्पर्धा हुँदा को सभापति निर्वाचित होला ?
तपाईंले भनेका चारैजना उठ्नुभयो भने त शेरबहादुरको त्यसै जित भैगयो । तपाईंले लिएका नेताहरुमध्ये उहाँ उत्कृष्ट हो त्यसैले उहाँ फेरि सभापति हुनुहुन्छ ।
अहिले के घटना भएको छ र महाधिवेशनको म्याद थप्नुप¥यो ?
अहिलेको संघीय संरचनाअनुसार वडादेखि जिल्लातहसम्मको अधिवेशन गर्न नै हामीलाई दश महिना लाग्छ । त्यसपछि राष्ट्रिय अधिवेशन गर्नुप¥यो । त्यसैले हामीलाई अभैm एक वर्षभन्दा बढी समय लाग्छ । त्यसैले ७७ को फगुनसम्म कांग्रेसले महाधिवेशन गर्छ । हिजो, अस्ति र भोलि पनि त्यही हुन्छ ।
विधानमा अधिकार भए पनि अहिले त्यो आवश्यकता छ र ?
हिजो पनि भएको थियो आज थप्नु कुनै आश्चर्यजनक कुरा होइन ।
पदको लागि सभापति एक वर्ष लम्ब्याउन खोज्नुभएको हो ?
पदको कुरा गर्दा राजनीतिमा मान्छे जोगी हुन आएका होइनन् । त्यस सबै पार्टीमा छ ।
अभैm पनि युवा पुस्ता नदिने ?
राजनीतिमा अब तँ गर भनेर कसले दिएको छ अहिलेसम्म । अरु मुलुकको पनि उदाहरण हेर्नुस् न ।
यसपालिको खेलमा खेलाडीहरुको पर्पmमेन्स कस्तो पाउनुभयो ?
अहिलेको खेलमा नेपालको ऐतिहासिक जित भएको छ । पहिलाकोभन्दा धेरै स्वर्णपदक हासिल गरेको छ । म पनि मार्सलआर्टको विद्यार्थी हुँ । त्यसमा नेपालले स्वर्णपदक प्राप्त गरेको छ । खेलाडीहरुले यति राम्रो गरेका छन् । त्यसमा सरकारले जुन किसिमको तयारी गर्नुपर्ने थियो । सहयोग र सुधार गर्न सकेको छैन । सरकारले खेलाडीहरुलाई खेलखेलेरै बाँच्न सकिन्छ भन्ने विश्वास दिन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्