Logo

क्रिकेटमा नेपाल पराजित



तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो ।

बङ्गलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटियो । खराब शुरुआत गरेको नेपालले १४ रनमा तीन विकेट गुमाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यस्तै अविनास बोहरा १३ रनमा अविजित रहँदा रोहित पौडेलले आठ, ललित राजवंशीले पाँच तथा सुसन भारीले दुई रन जोडे । बङ्गलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान दुई÷दुई विकेट झारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० अ‍ोभरमा छ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि कप्तान नाजमूल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेका थिए । कप्तान नाजमूलले सर्वाधिक ७५ रनको योगदान दिए ।

साठी बलको सामना गरेका उनले चार छक्का र चार चौकाको मद्दतमा अविजित ७५ रन बनाएका हुन् । यस्तै आफिफ होसेनले ५२ रन जोडे । बलिङतर्फ नेपालका पारस खड्काले तीन विकेट हात पारे । यस्तै दीपेन्द्र सिंह ऐरीले दुई तथा अविनास बोहराले एक विकेट लिए । चार खेलमा दुई जीत र दुई हार व्यहोरेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले चार खेलमा चार अङ्क जोडेको छ ।

पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । तीन खेल खेलेको बङ्गलादेश तीनै खेलमा जीत हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेशले छ अङ्क बनाएको छ ।

त्यस्तै समान छ अङ्क नै जोडेको श्रीलङ्का रनरेटका आधारमा अङ्क तालिकाको दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का फाइनलमा प्रवेश गरेका छन् । यता नेपालले अब कास्य पदकका लागि माल्दिभ्ससँग खेल्ने छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्