Logo

धरानमा जब कांग्रेसले जित्यो



काठमाडौँ, २२ मंसिर । वर्षौंदेखिको एमाले किल्ला। माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल। दुईतिहाइको सत्ताधारी। तर पनि धरानमा किन हार्‍यो नेकपा रुजिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन्। धरान उपमहानगरको मेयरमा पहिलो जितपछि कांग्रेस भने खुसियाली मनाउँदै छ।

बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेदवार निर्वाचित भई कम्युनिस्ट विरासतलाई कायमै राखेका थिए। उपनिर्वाचनमा २६ हजार ७ सय ९ मत प्राप्त गरी मेयरमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए। नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन्। पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथलगायत कारण चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन्।

पार्टी नेतृत्वको अहम् र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ। तिलक २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बासँग ४ हजार ७ सय ६९ मतान्तरले पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले त्यस बेला ११ हजार १ सय ८० मत पाएका थिए। तत्कालीन एमाले र माओवादीको मत कांग्रेस उम्मेदवारले पाएभन्दा १५ हजार बढी हुन आउँछ। तर, नेकपाका प्रकाशलाई उल्टै २ हजार ७ सय ९५ मतान्तरले पराजित गरी १८ हजार मत उल्ट्याउन कांग्रेसका तिलक सफल भए। नवनिर्वाचित मेयर राईले नेकपाकै मत प्राप्त गरी आफूले विजयी हासिल गरेको बताएका छन्। आफूले जिते पनि धरानको ‘लालकिल्ला’ भने नभत्किएको उनको भनाइ छ।

मेयर तारा सुब्बाको निधनपश्चात् उपमेयर मञ्जु भण्डारीले १६ महिना कार्यवाहकको जिम्मेवारी सम्हालिन्। कार्यवाहक मेयर भण्डारीले उक्त अवधिमा जसभन्दा बढी अपजस पाउने काम गर्नु नेकपालाई भारी बनेको विश्लेषक बताउँछन्। उपमेयर भण्डारीसहित धरान–१५ का वडाध्यक्ष नरेश इवारम, ११ का बाबुलाल गिरी, १६ का दिलकुमार गिरी, १७ का मनोज भट्टराई, ८ का रुद्र लिम्बू, ३ का आसकुमार श्रेष्ठ पनि यसमा कारक देखिएका छन्। विगतमा दोब्बर मतसहित निर्वाचित जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लागेपछि यसपटक नेकपाको तुलनामा बढी मत कांग्रेसले प्राप्त गरेको छ। २० वडामध्ये ४, ५, ६, २० मा राम्रै मत ल्याए पनि १५ र १७ झिनो मतले मात्रै नेकपा अगाडि आयो। ३ हजार मतले अग्रता लिनुपर्ने वडा नम्बर २, ८, ११, १३, १५, १६, १७ मा नेकपाले कम पाएपछि पराजय बेहोर्नुपर्‍यो।

नेकपा हारका कारण

१।तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिको गलत कार्यशैली र करमा भारी वृद्धिप्रति धरानवासी असन्तुष्ट थिए। पार्टी नेतृत्वले पटक–पटक कर समायोजन गर्न निर्देशन दिए पनि उपमेयर भण्डारीले अस्वीकार गरिन्। तीनपांग्रे टेम्पोको कर हजारबाट बढाएर ३ हजार रुपैयाँ पुर्‍याइयो। घरजग्गा, व्यापार, व्यवसायलगायत क्षेत्रमा पनि कर बढाइयो। यहाँका ४ हजार टेम्पो चालक अधिकांश नेकपासमर्थक थिए। उनीहरूका श्रीमतीसहितको मत ८ हजार हुन्छ। कर बढाएका कारण यसपटक कांग्रेस उम्मेदवारलाई मत हाल्नुपरेको टेम्पो चालकले बताएका छन्।

मेयर सुब्बाको निधनपश्चात् उपमेयर भण्डारीले चुनावी एजेन्डा पूरा गर्न नसकेको विषयलाई कांग्रेसले उपनिर्वाचनमा बढी प्रचार गर्‍यो। उपमेयर भण्डारीले शिलान्यास गरेको नयाँ बसपार्क निर्माण गर्न नसक्दा बजेट फ्रिज भयो। धरान विमानस्थल बनाउन जग्गा व्यवस्थापन भएन। कोसी राजमार्गमा पर्ने भानु चोकबाट लक्ष्मी चोकसम्मको भत्काउने सडकमा बजेट विनियोजन गरियो। त्यसले रेलिङ र नयाँ डे«न बनाइयो। मोहियानी हक नभएको महेन्द्र क्याम्पसको जग्गामा मोहियानी हकको सिफारिस गरियो। सहिद स्कुलको जग्गाबाट बाटो खोल्ने निर्णयलगायत काम उपमेयर भण्डारीले गलत गरेको सम्बद्ध पक्षको गुनासो छ। धरान–१५ का वडाध्यक्ष नरेश इवारमले दुई सालीलाई कार्यालयमा भर्ती गराए। विकास निर्माणका काम आफूनिटकलाई ठेक्का दिए। १६ का वडाध्यक्ष दिलकुमार गिरी कार्यालयको काम छाडी ठेक्कापट्टामा लागे। अधिकांश वडाध्यक्ष कार्यालय समयमा हाजिर नहुने समस्या देखियो। त्यस्तो बेला कार्यवाहकसमेत नछाड्ने गरेका कारण मतदाता रुष्ट बने। वडाध्यक्षहरू ठेक्कापट्टामा लागी विकास निर्माणका काममा कमिसन माग्नु, नातेदारलाई मात्र ठेक्का दिनु र कार्यकर्ताको घर भएका स्थानमा मात्र बजेट विनियोजन गर्नु कमजोरी देखिन्छ।

२। पार्टी एकीकरणमा ढिलाइले कार्यकर्ता जिम्मेवारविहीन हुनु पनि नेकपालाई उपनिर्वाचनमा भारी बन्यो। धरान नगर समिति गठनमा माधवकुमार नेपाल पक्ष हावी देखियो। अध्यक्ष केपी शर्मा ओली समर्थकलाई पाखा लगाई नेपाल पक्षधरलाई मात्र पार्टीको जिम्मेवारी दिइयो। यसमा पार्टीका प्रदेश १ इन्चार्ज भीम आचार्य र केन्द्रीय सदस्य धर्म निरौलालगायत नेताको भूमिका रह्यो। पार्टी एकीकरणपश्चात् पनि नेपाल पक्षकै नेताले पूर्वमाओवादी र ओली पक्षलाई जिम्मेवारी नदिनु कमजोरी थियो। जसका कारण पूर्वमाओवादीतर्फका कार्यकर्ता असन्तुष्ट बनेका थिए। नेपाल, ओली र पुष्पकमल दाहाल पक्षधरबीच गुटबन्दीका कारण नेकपाले पराजय बेहोरेको विश्लेषक प्रा।डा। राजेन्द्र शर्मा बताउँछन्। ३।नेकपा उम्मेदवारविरुद्ध अन्य दल सक्रिय रहे। समाजवादी, राप्रपा, खम्बुवानलगायतले कांग्रेस उम्मेदवारलाई समर्थन गरे। समाजवादीले आफ्ना उम्मेदवारलाई थाहै नदिई कांग्रेसको समर्थन गर्ने निर्णय गरेपछि गजेन्द्र लिम्बूको जमानत जफत भयो। आफ्नै नेता÷कार्यकर्ताले षड्यन्त्र गरेको आरोप लिम्बूले लगाएका छन्। तिलकले पनि समाजवादीले आफूलाई समर्थन गरेको बताएका छन्।

४।नेकपाले हार्नुको अर्को कारण अन्तर्घात हो। उम्मेदवारी छनोटमा देखिएको असन्तुष्टि सम्बोधन गर्न नसक्नु र नेपाल पक्षधरले फेसबुकमा ओली पक्षलाई गाली गर्नुले कार्यकर्ता विचलित देखिएका थिए। पूर्वमाओवादी र एमालेकै असन्तुष्ट कार्यकर्ताले यसपटक कांग्रेस उम्मेदवारलाई भोट दिएको चर्चा छ। सक्रिय र पुराना कार्यकर्तालाई पार्टी जिम्मेवारीबाट अलग बनाएको भन्दै उनीहरूले नेतृत्वको रवैयाविरुद्ध विरोध गरे। कतिपय उपनिर्वाचनकै मुखमा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरे। पूर्वमाओवादी र ओली पक्षधर कार्यकर्तालाई उपेक्षा गरेपश्चात् नेपाल समूहको नेतृत्व गर्ने प्रदेश इन्चार्ज आचार्यको योजना विफल पार्ने उद्देश्यले अन्र्तघात भएको अनुमान गरिएको छ। समीक्षा बैठकमा अन्तर्घातको कुरा उठाउँदा उपमेयर भण्डारीका श्रीमान् मुरारी सुवेदी ९ओली पक्षधर पार्टी जिल्ला सदस्य०ले रुँदै बैठकमा स्पष्टीकरण दिएको स्रोत बताउँछन्।

यस्तो थियो विरासत

धरानसमेत समेटिएको सुनसरी क्षेत्र नम्बर १ बाट २०४८ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भएका थिए। २०५१ को निर्वाचनमा निर्वाचित लीला श्रेष्ठ सुब्बा पहिलो महिला उपसभामुख बनिन्। एमाले विभाजन भएका बेला पनि २०५६ मा यहाँबाट कुन्ता शर्मा निर्वाचित भइन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका किरण राई निर्वाचित भए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्णकुमार राई र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जयकुमार राई विजयी भए।

स्थानीय निर्वाचनतर्फ २०४९ मा तत्कालीन एमालेका ध्यानबहादुर राई मेयर र मनोजकुमार मेन्याङ्बो उपमेयर बने। २०५४ मा एमालेकै मेन्याङ्बो मेयर र कृष्णनारायण पालिखे उपमेयरमा निर्वाचित भए। २०७४ मा एमालेका तारा सुब्बा मेयर र मञ्जु भण्डारी उपमेयर निर्वाचित भए। तीनै स्थानीय निर्वाचनमा बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेदवार निर्वाचित भई कम्युनिस्ट विरासतलाई कायम राखेका थिए। पार्टी एकीकरणमा ढिलाइ र स्थानीय जनप्रतिनिधिका कामप्रति असन्तुष्टि नै उपनिर्वाचनमा पराजयको कारक बनेको नेकपा सुनसरी सचिव तथा निर्वाचन परिचालन मूल समिति संयोजक रमेश बस्नेत बताउँछन्। संघ, प्रदेश र स्थानीय सरकारले थालेका विकास निर्माणका कामको परिणाम आइनसक्नु र कार्यकर्ताको जिम्मेवारी बाँडफाँट चाँडै नहुनु कमजोरी भएको उनको भनाइ छ।

अर्कातर्फ सुकुम्बासीलाई रिझाउन नसक्दा पनि नेकपालाई घाटा भयो। जसका कारण कांग्रेस उम्मेदवारलाई सहज भयो। नेतृत्वले पार्टीपंक्तिलाई सही ढंगले परिचालन गर्न नसक्नु र संघीय तथा स्थानीय सरकारले कर वृद्धि गर्नुलगायत कारण मतदाता असन्तुष्ट बनेको नेकपा प्रदेश सदस्य अइन्द्रविक्रम बेघा बताउँछन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्