बलात्कार आरोपीको ‘इन्काउन्टर’ पछि अन्य पीडितले गरे त्यस्तै ‘इन्काउन्टर’ को माग


भारतको हैदराबादमा भएको बलात्कारको घटनामा चारजना आरोपीको इन्काउन्टरमा मृत्यु भएपछि अन्य बलात्कार पीडितका परिवारले त्यस्तै इन्काउन्टरको माग गरेका छन् । उनीहरुले बलात्कारीमाथि कडा कदम नचालिएसम्म घटना नघट्ने भन्दै यस्तो माग गरेका हुन् ।

उत्तर प्रदेशको उन्नाओमा बलात्कारपछि उपचारका क्रममा मृत्यु भएको महिलाको परिवारले पनि दोषी जेलमा रहेमा असुरक्षित हुने भन्दै हैदराबादमा जस्तै गरिनुपर्ने माग गरेका छन् । महिलाका बाबुले दोषीलाई नमारेसम्म आफ्नी छोरीको आत्माले शान्ति नपाउने बताएका छन् ।

अन्य बलात्कारको घटनाका पीडितका परिवारले पनि त्यस्तै माग गरेका छन् । भारतमा बलात्कारको घटना निकै बढेको तथ्यांक छ । बलात्कारविरुद्ध कडा कानुन बनाउँदा पनि कमी नआएपछि सरकारले कडा नीति लिइरहेको छ ।

तेंलगना राज्यमा पशुचिकित्सकको चारजनाले बलात्कारपछि जलाएर हत्या गरेको बताइएको छ । २६ वर्षीया पशुचिकित्सकको योजनावद्ध तरिकाले बलात्कारपछि हत्या गरिएको हो । २७ नोभेम्बरमा घटना घटेपछि २९ नोभेम्बरमा पक्राउ परेका चारजनाको ६ डिसेम्बरमा अपराधबारे अनुसन्धानका लागि लगिंदा प्रहरीमाथि आक्रमण गर्न थालेपछि इन्काउन्टर गरिएको बताइएको छ ।