Logo

त्रिविको विवादास्पद परीक्षामाथिको छानविनमा सतर्कताको अलमल



काठमाडौं, २२ मंसिर । त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र स्नातकोत्तर तहको क्वान्टम मेकानिक्स विषयको प्रश्नपत्रका अधिकांश प्रश्न पाठ्यक्रम बाहिरबाट निकालेर जर्बजस्ती परीक्षा लिएको विषयमा सतर्कता केन्द्र देखि विश्वविद्यालय अनुदान आयोगलगायतका सम्बन्धित निकायले चासो लिएको भनिएपनि टुंगोमा पुर्याउन सकेको छैन । यसप्रति सतर्कता केन्द्र र विश्वविद्यालय अनुदान आयोगको कदम पनि फितलो देखिएको छ । सतर्कता केन्द्रले दुई महिनायता विवरण पठाउन दुई पटकको ताकेता गरेपनि त्रिविले अटेर गरिरहेको छ । तैपनि सतर्कता केन्द्रले कडा कदम चालेको छैन ।

यता, गैरकानुनी प्रश्नपत्र, जर्बजस्ती परीक्षा लिएपछि त्यसबारे छानविन समेत भएको अवस्थामा पेलेरै गल्ती लुकाउने कार्यले त्रिविको परीक्षा प्रणालीमै गम्भीर प्रश्न उठेको छ । तैपनि, त्रिविका अधिकारीहरु गल्ती लुकाउन सक्रिय हुँदा यो समस्या झन् गहिरिएको छ । त्रिविले छानविन गरिसकेर पनि तथ्य ढाकछोप गर्नमा समय खर्चन थालेको छ । नवनियुक्त उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाबाट सुधारको अपेक्षा गरिएपनि गल्ती ढाकछोप गर्ने कार्यशैली देखिनथालेको छ ।

सतर्कता केन्द्रले ३० असोजमा क्वान्टम मेकानिस्कको परीक्षा सम्बन्धित आवश्यक विवरण पठाउन पत्र लेखेको थियो । तर, दुई महिना पुग्न लाग्दा पनि त्रिविले अटेर गरेको छ । सामान्यता साधारण पत्रको हकमा सुशासन नियमावली अनुसार १० दिनभित्र विवरण पठाउनुपर्छ । तर, त्रिविले पठाएको छैन ।

सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले यसबारे कसरी अगाडि बढ्नेबारे छलफलमा जाने बताए । उनले भने, सचिवज्यू बाहिर हुनुहुन्छ आएपछि टुंगोमा पुग्छौं । सतर्कता केन्द्रका अनुसार त्रिविमा दुई पटक पत्र पठाएपछि पनि बेवास्ता भएपछि फोन सम्पर्क गरी जानकारी गराउँदा विवरण तयार भइसकेको र पठाइदिने जवाफ मात्र आएको छ । केन्द्रका एक अधिकारीका अनुसार भोलि भोलि भनेर अलमलाउने काम भइरहेको बताए ।

त्रिविको प्रश्नपत्रसम्बन्धि कार्यशैलीमा त्रुटी र परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने जस्ता गैरकानुनी कार्य देखिएपछि सम्बन्धित निकायमा उजूरी परेको आधारमा विवरण मागिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले क्वान्टम मेनानिक्स उत्तरपुस्तिका सम्बन्धि विवरण पठाउन बारम्बार ताकेता गर्दा पनि पठाएको छैन । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन एवं परीक्षा शाखा प्रमुख तेजबहादुर बीसीले यसबारे जानकारी लिन खोज्दा फोन काटे । उनले पछि कुरा गर्छु भनेर फोन काटेका थिए ।

विश्वविद्यालय अनुदान आयोगले प्रस्तुत विषयमा हालसम्मको वस्तुस्थिति र सो विषयमा विश्वविद्यालयको पछिल्लो धारणा समेत माग गरी आवश्यक कागजात यथाशिघ्र उपलब्ध गराउन १० मंसिरमा पत्र लेखिसकेको छ । अत्यन्त जरुरीको छाप लगाएर पत्र लेखिएपनि जवाफ आइसकेको छैन । तीन दिनभित्र जवाफ पठाउनुपर्नेमा त्रिविले अटेर गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक डा. देवराज अधिकारीले विवरण नआइसकेको बताए । विवरण नआई अध्ययन नगरी यसबारे अगाडि बढ्न नमिल्ने भएकाले छिट्टै आउने आशा गरिएको बताए । विवरण आएन भने के गर्ने भनेर सोध्दा उनले भने, ‘आएन भने कसरी अगाडि बढ्ने फेरि छलफल गर्छौं ।’

शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीद्धारा गठित तीन सदस्यीय छानविन समितिले ४५ पूर्णांकमा २५ अंकको अथवा समेत लिएर पाठ्यक्रमभित्रबाट र पाँच अंकको छ वा छैन दुवै अर्थ लाग्ने खालको प्रश्न सोधिएको भनी किटान गरिएको थियो । पाठ्यक्रमबाहिरबाट परीक्षा आएपनि जर्बजस्ती परीक्षा संचालन गरिएको थियो । छानविन समितिको निष्कर्षपछि पनि विद्यार्थीलाई कसरी उत्तीर्ण गरायो भन्नेबारे गम्भीर प्रश्न उठेको छ । विद्यार्थीहरुले उत्तरपुस्तिकाको पुनः परीक्षण गर्दा अवैधानिक कार्य अझ प्रष्ट हुने भन्दै सम्बन्धित निकायमा उजूरी हालिसकेका छन् । तर, त्रिवि र केही सम्बन्धित निकायका कर्मचारीको मिलेमतोमा अलमलाउने गतिविधि भएबाट विद्यार्थीहरु अदालत सम्म पुग्ने अवस्थामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्