Logo

कलिला गोडामाथि जब ट्रक गुड्यो



काठमाडौँ, २३ मंसिर । बाँकेको कोहलपुरमा भीड नियन्त्रण गर्न प्रहरीले चलाएको ‘रबर बुलेट’ लागेर एक दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सयौं राउण्ड रबर बुलेट, हवाइ फायर र अश्रुग्यासको सेल प्रहार गरेका छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २५ जना घाइते उपचारका लागि गएका थिए। आइतबार साँझसम्म घाइतेमध्ये ६ जनालाई ललितपुरको बीएण्डबी अस्पतालमा रिफर गरिएको छ।

बिहान साढे नौ बजेतिर कोहलपुरको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने छात्रा प्रकृति चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले किचेर गम्भीर घाइते पारेपछि आक्रोसित विद्यार्थीले ट्रकमा आगजनी गर्दै दिनभर प्रदर्शन गरे। गम्भीर घाइते चन्दलाई दिउँसो सवा तीन बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाइएको थियो। उपचारमा संलग्न डा।देवेन्द्र आचार्यले भने, ‘गाडीले कुल्चिएकी चन्दको दुबै खुट्टामा क्षति पुगेको छ। उनको शरीरमा २ प्वाइन्ट होमोग्लोबिन मात्र थियो। गम्भीर अवस्थामा रहेका कारण उनलाई बीएण्डबीमा रिफर गरिएको हो।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जीव पन्तका अनुसार प्रहरीको रबर बुलेट लागेर १४ जना घाइते भएका छन्। तीमध्ये नारायण खत्री, श्रीकान्त भुसाल, महेश आचार्य, माधव पुलासी र ललिता वडुवाललाई साँझ सेनाको हेलिकप्टरबाट राजधानी पठाइएको हो। डा।आचार्यले श्रीकान्त शर्मा भुसाल र नारायण खत्रीको अवस्था गम्भीर रहेको बताए। उनले भने, ‘प्रहरीको रबर बुलेट लागेर नारायण खत्रीको अण्डकोष फुटेको छ। श्रीकान्त भुसालको कम्मर मुनी दुई ठाउँमा गोली लागेको छ। उनीहरू दुबैलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।’

झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरीनायव उपरीक्षक हेमबहादुर शाहीसहित १० जना प्रहरी शिक्षण अस्पतालमा उपचार गर्न गएको अस्पताल प्रशासनले जनाएको छ। बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले भने ४० जनाभन्दा बढी प्रहरी झडपमा घाइते भएको दाबी गरे। दुर्घटना लगत्तै छात्रा किच्ने तेल बोकेको ट्रकमाथि आन्दोलनकारीले आगजनी गरेका थिए। त्यस क्रममा उनीहरूले दर्जनौं निजी, भाडाका सवारी साधन पनि तोडफोड गरे। प्रदर्शनकारीले नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा पनि तोडफोड गरेका छन्। घरमा लागेको आगो निभाउन गइरहेको कोहलपुर नगरपालिकाको दमकललाई पनि प्रदर्शनकारीले केही बेर रोकेका थिए। आन्दोलनकारीले इप्रका कोहलपुरको क्यान्टिनमा आगजनी गरेका थिए। त्यस क्रममा क्यान्टिनमा रहेका दुई वर्षीय बालक घाइते भएका छन्।

कोहलपुरमा कर्फ्यू

जिल्ला सुरक्षा समितिको दिउँसो कोहलपुरमा बसेको बैठकले तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको थियो। दक्षिणमा पिपरी चोक, उत्तरमा कोहलपुर चौराहाबाट पाँच सय मिटरमा नौबस्ता जाने बाटो, पूर्वमा चप्परगौडी र पश्चिममा किरण नालासम्मको चार किल्लामा कर्फ्यू आदेश जारी गरिएको हो। कर्फ्यूको आदेश प्रहरीले दुई बजेर ५२ मिनेट जाँदा कोहलपुर क्षेत्रमा माइकिङ गरेको थियो।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले पौने ३ बजेतिर प्रदर्शनकारीलाई नियन्त्रणमा लिन कर्फ्यू लगाउनु परेको जानकारी दिए। प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुर अगाडि ३ बजेदेखि कर्फ्यू लागेको माइकिङ गरेको थियो। कर्फ्यू लगाएर भीड नियन्त्रण नभएपछि भने सुरक्षा निकायले निषेधित क्षेत्र घोषणा गरेको बताएका छन्। अबेरसम्म कोहलपुरमै सर्वदलीय बैठक बसिरहेको थियो। बाँके प्रहरी प्रमुख ओली भन्छन्, ‘आवश्यक प¥यो भने हामी प्रहरीलाई गोली हान्ने आदेश दिने गरी कर्फ्यू लगाउन सक्छौं।’
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्