Logo

‘म पाँच वर्षको प्रधानमन्त्री हुँ’ भनेर घर र अस्पतालमा सुतिरहन पाइँदैन- सुरेन्द्र पाण्डे, नेता, नेपाली कांग्रेस



काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डे राष्ट्रिय सभामा पार्टीका नेता पनि हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश अशक्त जस्तै भएको तर्क गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
देशको प्रगति कता गएको छ ?
प्रधानमन्त्रीसँगै देशको प्रगति पनि सुतेको जस्तो छ, कतै चाइचुईँ छैन । साग खेलमा चाहीं खेलाडी भाइबहिनीहरुले प्रगति गरेको देखिएको छ, त्यसको लागि म उहाँहरुलाई वधाइ दिन चाहन्छु । राजनीतिमा खासै चलहपहल देखिएको छैन ।
सत्तापक्षको कुरै छोडौं, प्रतिपक्षको पनि देखिएन नि ?
सत्तापक्षको चहलपहल नभएपछि प्रतिपक्षको पनि हुँदैन । कतिपय अवस्थामा प्रतिपक्ष भर्सेस सत्तापक्ष हुन्छ । याक्सनमा मात्रै रियाक्सन हुन्छ, याक्सन नै नभएपछि कहाँबाट रियाक्सन गर्नु ।
प्रधानमन्त्रीबाट याक्सन आउँछ त बेला–बेलामा ?
उहाँबाट अहिले याक्सन नआएर त हाम्रो रियाक्सन आएन । तैपनि अहिले भएका केघटनाका बारेमा हामीले प्रतिक्रियाहरु दिइरखेका छौं । तर, मुल्ुकको राजनीति र सरकारका क्रियाकलापहरु प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिथिल भएको छ ।
प्रधानमन्त्रीको दैनिक क्रियाकलापमा तलमाथि भएको छैन भनिएको छ नि ?
कर्मचारीले गएर फाइलहरु तयार भए हेर्ने, टिप्पणी उठाउने कामहरु भइराखेका होलान् । मुलुकलाई प्रभाव पार्ने दूरगामी योजनाहरु केही आएको छैन । जुन काम गर्नुपर्ने थियो, त्यो भएको छैन । कहिलेसम्म मुलुक यसरी चल्छ, त्यसबारे पनि प्रश्न उठाउने बेला भएको छ । अहिलेसम्म त हामीले पनि प्रधानमन्त्रीको स्वाथ्यलाभको कामना गरिरहेका छौं ।
उहाँ त पाँच वर्षको बन्नुभएको प्रधानमन्त्री हो नि ?
‘म पाँच वर्षको प्रधानमन्त्री हुँ’ भनेर कहिले घरमा, कहिले अस्पतालमा सुतिरहन पाइँदैन नि । उहाँ अहिले असक्त हुनुहुन्छ होला । तर, मुलुक यसरी चल्छ कि चल्दैन, त्यसबारेमा सोच्नुपर्यो नि ।
उहाँको म्यान्नेट त पाँच वर्षको लागि हो ?
म्यान्नेट त काम गर्नको लागि हो नि । प्रधानमन्त्रीसँगै अरु मन्त्रीहरु पनि टोलाएर बसिरहनुभएको छ । जे काम गर्न पनि हामी उहाँसँग सल्लाह गरेर गर्छौं भन्नेको लागि होइन यो सरकार ।
त्यसोभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्न खोज्नुभएको हो ?
अहिले नै बेला भएको छैन । मुलुकमा यही परिस्थिति रहिरह्यो भने सोच्नुपर्ने हुन्छ ।
अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ भनेर कांग्रेसकै नेताहरुले भनिरहनुभएको छ नि ?
मैंले त खोइ त्यस्तो देखिँन । के के गर्नुभएछ ? सुन्न पाए हुन्थ्यो । नेपाल स्थिर सरकार नभएर काम गर्न पाइएन भन्ने नारा दिइयो । स्थिर सरकार पनि आयो । केपी ओलीको नेतृत्वमा सरकार बनेको आउने फागुनमा दुई वर्ष पुग्छ । यो बीचमा भएको एउटा त्यस्तो काम भन्नुस् जसले मुलुकमा दूरगामी प्रभाव भयो र एउटा त्यस्तो आयोजना देखाउनुस् जुन हिजोका दिन बन्न सकेको थिएन । अरुले कुरा उठाउँदा ‘दुई तिहाईको सरकारले गर्न नपाउने’ भन्नुहुन्छ बेलाबखत । गर्नुचाहीं के भयो ? बरु सुरु भएका कामहरु लथालिंग भएका छन् । यति बलियो सरकारले के अहिलेसम्म के ग¥यो ?
काम गर्न पहल भइरखेको छ भनिएको छ ?
पहल कसले गरेको थिएन र । हिजो राजा महेन्द्र, वीरेन्द्रले पनि पहल गरेका थिए नि । पञ्चायतका प्रधानमन्त्रीदेखि सबैले पहल गरेकै हुन् नि, पहलै गरेको छैन भनेर कसले भनेको छ । ‘म भ्रष्टाचार गर्छु, विकास गर्दिँन भनेर कुनै प्रधानमन्त्रीले भन्छन् । रोक्छु, पहल गर्छु त भन्छन् नि । पहल हो भने अहिले देखिएका बालुवाटार जग्गाकाण्डदेखि सुनकाण्डसम्ममा के गर्नुभयो त ? दोषीलाई कारबाही के भयो त ? कहिलेकाहीं १०-२० हजार घूस खाने सुब्बा, अधिकृतका कुरा आउँछन् अख्तियारले छानविन गर्यो रे भनेर । यत्रा ठूला–ठूला काण्ड घटाउनेलाई कारबाही के भयो त ?
कांग्रेसमा पनि नेविसंघ लगायतका भ्रातृ संस्थाहरु नेतृत्वबीहिन भएका छन् नि ?
कांग्रेसका यी कामहरु समयमै हुनुपथ्र्यो, राम्रोसँग पार्टी चलेको म भन्दिँन । तर, आन्तरिक द्वन्द्वहरु नयाँ कुरा होइनन् । पार्टीभित्र बेला–बेलामा द्वन्द्व हुन्छ, फेरि एकजुट भएर काम गर्छौ । कतिपय कुरामा पार्टी सञ्चालन पनि मान्छेपिच्छे फरक हुन सक्छ । नीतिगत र सिद्धान्तमा हाम्रो केही विवाद छैन । कुनै अवसरहरु बाँडफाँड गर्ने बेलामा हामीकोमा विवाद हुन्छ । त्यसलाई आफ्नै ढंगबाट म्यानेज गरेर अगाडि बढिरहेका छौं ।
नेविसंघ त नेतृत्वविहिन छ नि ?
अहिले नेतृत्वविहिन पहिल्यै पूर्ति हुनुपथ्र्यो । नेविसंघलाई बनाउन खोज्दा दशैंतिहार भनियो, त्यसपछि चुनावको कुरा आयो । अब पर्सी हुने बैठकको क्रममा सभापतिज्यूले गर्नुहुन्छ भन्ने लाग्छ । समग्रमा भन्नुपर्दा यी संघ, संगठनहरु जसरी क्रियाशील हुनुपथ्र्यो त्यो हुन सकेको छैन ।
विभागहरु गठन गरेर बेमौसमको बाजा बजाउनु हुँदैन भन्ने धेरैको धरण छ, के भन्नुहुनछ ?
विभागै गठन गर्नुहुँदैन भन्ने होइन । पहिल्यै गठन गर्नुपथ्र्यो भन्दा राम्रो हुन्छ । विधानमा लेखिएपछि त्यो बमोजिम कुनै पार्टी वा संठनले काम गर्नुपर्ने हो । विभाग बनाउन ढिला भएको छ ।
२६ गतेको बैठकमा विभाग पनि गठन गर्नुहुन्छ ?
त्यो बैठकमा सभापतिजीले विभागहरु प्रस्तावित गर्नुहुन्छ ।
सहमतिमै विभाग गठन हुन्छ ?
पहिला ४२ थियो अहिले घटेर २८ वटा भएको छ, सभापतिजीले बढाउनुपर्छ भन्नुभएको छ । विधान अनुसार थपघट हुन्छ । केन्द्रीय समिति सदस्य बढाउने त्यो अनसार उनीहरुलाई काम गर्ने ठाउँ थिएन । त्यसकारण सहमतिबाटै यी कुरा टुंग्याउने, त्यसो पनि भएन भने एउटा बाटो त लिनुपर्ला नि त ।
सहमति नहुँदा सभापतिबाट कस्तो कदम चालिन्छ ?
प्रजातान्त्रिक सिस्टममा कुनै पनि निर्णयमा सहमति भएन भने बहुमतबाट हुन्छ ।
केन्द्रीय समितिमा सभापतिसँग बहुमत छ ?
प्रष्ट बहुमत छ ।
बहुमतबाट पेलेर जाने हो ?
पेलेर जाने होइन । पार्टीका उपसभापतिले सबै भ्रातृ संगठनलाई मिलाउन सहमति जुटाउन छलफल गरिरहनुभएको छ । अब पनि सहमति पनि गराउन नसक्ने र बहुमतबाट निर्णय गराउन नसक्ने हो भने यो भन्दा नालायक नेतृत्व अरु हुँदैन ।
शेरबहादुर देउवा नालायक हुनुभएको हो ?
सहमति पनि जुटाउन नसक्ने, बहुमतबाट पनि आँट नगर्ने हो भने के हुन्छ त ? सकेसम्म सहमतिबाटै गर्नुपर्छ, एकदमै पेलेर जानुपर्छ भन्ने केही छैन । २८ वटा विभागलाई ४२ बनाए भइहाल्छ, त्यसमा केन्द्रीय कार्यसमिति प्रमुख हुने हो । मान्छेको क्षमता हेरेर सबैको सहमतिमा जिम्मेवारी दिए भइहाल्छ नि ।
अब सहमति नभए पनि बहुमतको आधारमा विभाग बन्छ हो ?
सभापतिजीले त्यही भन्नुभएको छ ।
राष्ट्रिय सभाको निर्वाचनलाई कसरी लिनुभएको छ ?
दुई अवधि पुराभएका ठाउँमा दुई वर्षका लागि निर्वाचन हुन्छ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि निर्वाचन गरिसक्नुपर्छ भन्ने ऐनमा व्यवस्था छ । त्यही निर्वाचनको लागि आज ११ः३० निर्वाचन आयोगले दलहरको बैठक बोलाएको छ ।
कतिजनाको निर्वाचन हुँदैछ, को को विदा हुँदैछन् ?
ठ्याक्कै को को छन्, थाहा छैन, १९ जना विदा हुँदैछन्, त्योमध्ये म पनि विदा हुँदैछु । संसदीय दलको नेताको नाताले संसदीय मूल्य र मान्यता अनुसार जुन भूमिका मैले निर्वाह गर्नुपर्ने त्यो सफलतापूर्वक सम्पन्न गरेँ भन्ने लाग्छ ।
कांग्रेसको भूमिका कमजोर हुने भयो नि राष्ट्रियसभा तपाईंहरु धेरैको पदावधि सकिँदैछ नि ?
राष्ट्रिय नेपाली कांग्रेसका सातजना साथीहरुको पदावधि सकिन्छ । अब जम्मा ६ जना साथीहरु मात्रै रहनुहुन्छ । यसमा कसैको घट्ने कसैको बढ्ने हुँदोरहेछ , त्यसले नेपाली कांग्रेस ५२ प्रतिशत संख्या घट्छ, भने नेकपा २२ प्रतिशत मात्रै घट्छ । चिट्टा सिस्टमले अलिकति नमिल्ने देखियो । पार्टीले पठाउने हुँदा सबैको समान रुपमा घट्ने र बढ्ने हुन्थ्यो । पार्टीले पनि आफ्ना सदस्यको क्षमता हेरेर समय तोक्ने सिस्टम राख्नुपर्ने थियो ।- File Photo



प्रतिक्रिया दिनुहोस्