Logo

देउवाले किन देखे ‘हिन्दु धर्ममाथि खतरा’



काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसभित्र धर्मको मुद्दा जोडतोडले उठिरहेको छ । काँग्रेसले हिन्दु राष्ट्रको एजेन्डा लिनुपर्ने पक्षमा पदाधिकारीहरु नै देखिएका छन् । केही केन्द्रीय सदस्यहरु यो मुद्दालाई लिएर बहसमा छन् । धर्मको मुद्दा काँग्रेसभित्र पेचिलो बन्दै जाँदा सभापति शेरबहादुर देउवाले यसैबारे नयाँ अभिव्यक्ति दिएका छन् ।

देउवाले आइतबार सार्वजनिक रुपमा हिन्दु धर्म र संस्कृतिमाथि खतरा बढेको बताए । उनले यो अभिव्यक्ति पहिलोपटक दिएका हुन् । यसअघि आफ्नै निवास बुढालिनकण्ठमा उनले श्रीमदभागवत् महापुराण लगाएका थिए । यसलाई कतिपयले देउवाले धर्मको मुद्दा अँगाल्न लागेको संकेतका रुपमा समेत बुझे । पछिल्लो समय उनले दिएको अभिव्यक्तिले यसमा बल पुगेको छ ।

काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले धर्म नीरपेक्षबारे पुर्नविचार गर्नुपर्ने अभिव्यक्ति दिदै आएका छन् । उनी हिन्दु राष्ट्रको पक्षमा सकारात्मक छन् । कोइराला राजसंस्थाका बारेमा पनि पुर्नविचार गर्नुपर्ने बताउँदै आएका छन् । कोइराला परिवारकै अर्का सदस्य डा. शेखर कोइरालाले पनि धर्मको मुद्दामा धारणा बाहिर ल्याइसकेका छन् । उनले पनि सनातन धर्मबारे पुर्नविचारको पक्षमा बोलेका छन् ।

काँग्रेसभित्र अबको एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने वाध्यता छ । काँग्रेस कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने सम्भावना बढ्दै जाँदा २०७७ सालभित्र अधिवेशन हुनसक्छ । यस अवस्थामा धर्मको विषयले विशेष महत्व राख्छ । त्यसैले पनि देउवाले धर्मको विषयमा आफ्नो धारणा विस्तारै सार्वजनिक गर्न थालेका छन् । धर्मको मुद्दा उठाउने दबाब र नेता कार्यकर्ताको साथ लिन पनि देउवाको धर्मबारे नयाँ कदम र अभिव्यक्ति विस्तारै आउन थालेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्