Logo

पिएसओको पावरले बदनाम हुँदै प्रहरी



काठमाडौं, २३ मंसिर । नेताको अंगरक्षकका रुपमा खटिने पिएसओका कारण प्रहरी बदनाम र संगठन कमजोर हुँदै गएको छ । ठूला नेताका पिएसओ बस्ने प्रहरीहरु सरुवा– बढुवामा त अघि पर्छन् नै भ्रष्टाचारमा समेत अग्रस्थानमा देखिएका छन् ।

डिएसपी कोमल शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनका पिएसओ थिए । प्रधानमन्त्रीबाट हटेपछि पनि शाहलाई देउवाले आफैंसँग राखे । जबकी पूर्व प्रधानमन्त्रीले इन्सपेक्टरको कमाण्डमा मात्र पिएसओ पाउँछन् । डिएसपी शाह प्रहरी भन्दा कांग्रेस कार्यकर्ता जस्तो बनेर काम गरेकाले देउवाले उनलाई रुचाए । उनी कांग्रेस नेताका छोरा समेत हुन् । आफ्नो सेवा गरेकाले देउवाकै पावरमा शाहले ८ महिनाअघि वडा प्रहरी कार्यालय बैदाम, कास्कीको इन्चार्ज हुने अवसर पाएँ ।

बैदाम डिएसपीका लागि सर्वाधिक आकर्षक पोष्टिङ मानिन्छ । किनकी पोखराको रात्रीबजार र सयौं होटल यही कार्यालय मातहत पर्दछ । ती होटल र रेस्टुरेन्टबाट प्रहरीले मासिक उठाउने गर्दछ । त्यसैका लागि उनी बैदाम गएका थिए ।

सरुवा भएको महिनादेखि उनको ध्यान कमाउनमा भयो । त्यहीकारण शान्ति सुरक्षा अवस्था खँस्कदै गयो । उप निर्वाचनको बेलामा समेत तीन दिन बिष्फोट भयो । चुनावमा उनले कांग्रेस उम्मेदवारलाई समेत अप्रत्यक्ष सहयोग गरेको प्रमाण भेटियो । त्यसपछि चुनावको मुखमा उनलाई गत साता प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।

यो एउटा उदारण मात्र हो । पिएसओ बसेका सबैजसो प्रहरीको अवस्था उस्तै छ । लामो समय नेकपाका अध्यक्ष प्रचण्डको पिएसओ बसेका एसपी दानबहादुर मल्ल हाल चितवनको इन्चार्ज छन् । प्रचण्डको पिएसओ भएकै कारण उनले यसअघि दरबारमार्ग वृत्तको इन्चार्ज पाएका थिए । बढुवा लगत्तै चितवनजस्तो संवेदनशील जिल्लामा उनलाई खटाइयो । उनले चितवनको कमाण्ड सम्हालेयता प्रहरी एकपछि अर्काे विवादमा फसेको छ । चोरीमा संलग्नलाई सार्वजनिक मुद्दा चलाएर उन्मुक्ति दिएकोदेखि मेडिकल कलेजको अवैध धन्दामा साथ दिएको आरोप उनीमाथि छ । रबि लामिछानेदेखि ज्ञानेन्द्र शाही प्रकरणमा उनी विवादमा तानिए । होटलमा छापा हानेर मासिक उठाउने गरेको आरोप उनीमाथि छ । कमजोर कमाण्डका कारण हिरासतमा प्रहरीको कुटाईबाट सेनाको मृत्यु हुने घटना समेत भएको छ । तर, उनको सरुवा भएको छैन ।

प्रचण्डका अन्य दुई पूर्व पिएसओको अवस्था पनि उस्तै छ । पिएसओ भएकै कारण बिनोद घिमिरेले दरबारमार्ग तथा सन्तोषसिंह राठौरले सोह्रखुट्टे वृत्तको इन्चार्ज पाएका छन् । उनीहरु पनि राम्रो पुलिसिङभन्दा कमाउन व्यस्त छन् । सोह्रखुट्टेका डिएसपी राठौरले हालै पर्यटक लुट्ने गिरोहलाई उन्मुक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीको पिएसओ बसेका आधारमा डिएसपी सन्तोष तामाङले रसुवा जिल्लाको इन्चार्ज पाएका थिए । ओलीको पिएसओ बसेका हरि खतिवडा एक नम्बरमा डिएसपी बढुवा भएका थिए ।

नेताहरुले पिएसओमा निष्पक्ष भन्दा आफुनिकट प्रहरीलाई रोज्ने गर्दछन् । जो प्रहरीहरु प्राय पार्टी निकट हुने गर्दछन् । तिनै प्रहरीहरु सरुवा र बढुवा दुवैमा अगाडि बढ्दै प्रहरी संगठन कमजोर बन्दै गएको छ । त्यही कारण प्रहरी विवादमा फस्ने बैदाम घटनाले पुष्टि गरेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्