Logo

राष्ट्रिय सभा चुनाव माघ ९ मा गर्न प्रस्ताव



काठमाडौँ, २४ मंसिर । राष्ट्रिय सभाका रिक्त हुने एक तिहाइ सदस्यको चुनाव आगामी माघ ९ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको २ वर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । तीमध्ये अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुन् । उनको स्थानमा सोही प्रक्रियाबाट र बाँकी १८ जना निर्वाचनबाट चुनिने छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यले ०७४ फागुन २१ गते शपथग्रहण गरेका थिए । ०७४ माघ २४ गते भएको निर्वाचनबाट चुनिएका र पछि राष्ट्रपतिबाट मनोनीत भएका तीन जनासहित राष्ट्रिय सभाका सांसदको पदावधि निर्धारण ०७५ असार ४ गते भएको गोलाप्रथाबाट गरिएको थियो । राष्ट्रिय सभाको पदावधि ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था छ ।

नेकपाका ९ जना युवराज खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटीको २ वर्षे पदावधि सकिन लागेको छ । त्यस्तै, कांग्रेसका ७ जना दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रिप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डेको पद रिक्त हुँदै छ । राष्ट्रिय सभामा रहेका राजपाका २ जना रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि सकिन लागेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले सोहीअनुसार मिति सिफारिस गरिएको बताए । प्रधानमन्त्रीलाई भेट्नुअघि आयोगले राजनीतिक दलका प्रतिनिधिसँग राष्ट्रिय सभा चुनाव सन्दर्भमा छलफल गरेको थियो । राष्ट्रिय सभाको चुनावका लागि दल दर्ता, निर्देशिका, मतदाता नामावली अद्यावधिक गर्नुपर्ने, प्रदेश स्तरमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याउनुपर्नेलगायत तयारी आवश्यक भएकाले आयोगले सोमबारकै मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका छन् । त्यसबाहेक प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना गरी ८र८ जना निर्वाचित भएका छन् । पहिलो चुनावमा २४ सिट निर्विरोध भएपछि ३२ सिटमा मात्रै चुनाव भएको थियो । सभामा मनोनीतबाहेक नेकपाका ३९, कांग्रेसका १३ तथा समाजवादी र राजपाका २र२ सदस्य छन् । मतदान एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट भएको थियो । एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३र३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट भएको थियो । यसपटक प्रदेशगत रूपमा क्लस्टरबाट एकरएक जनाको मात्रै छानिने भएकाले चुनाव बहुमतीय प्रणालीबाटै हुने प्रमुख आयुक्त थपलियाले बताए ।

राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्