Logo

आईजीपीको कार्यकाल थप्न दौडधुप



काठमाडौं, २४ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अवकाश मिति नजिकिदै जाँदा प्रहरीभित्र अनेक चलखेल अघि बढेका छन् । नयाँ आईजीपी बन्नका लागि स्वभाविक रुपमा दौडधुप हुने नै भयो, त्यसका साथै विगतमा जस्तै ३० वर्षे सेवाहद हटाउन समेत दौडधुप चलेको छ ।

पछिल्लो समय प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल ६ महिना थप्ने हल्लाले प्रहरी तरंगित भएको छ । स्रोतका अनुसार कार्यकाल थप्न केही शक्तिकेन्द्रमा यसबारे छलफल समेत भइसकेको छ ।

आईजीपीको पछिको ब्याचका उम्मेदवारहरु ‘पावर’का हिसाबले कमजोर रहेकाले खनालले पदावधि थप्नका लागि लबिङ गरेका हुन् । यसमा गृहमन्त्री रामबहादुर थापा सकारात्मक रहेको बताइएको छ । ब्याचका अन्यलाई अवकाश दिने र प्रहरी नियमावली संशोधन गरेर आईजीपीको हकमा कार्यकाल थप गर्न सकिन्छ । प्रहरीको अवकाशसम्बन्धी प्रावधान नियमावलीमा मात्र भएकाले क्याबिनेटले यस्तो निर्णय गर्नसक्छ । यद्यपि, सर्वाेच्च अदालतले अवकाशको उमेर, पदावधि तथा सेवा हदको विषय ऐनमै राख्न आदेश दिएको धेरै वर्ष बितिसकेको छ ।

त्यसो त महानिरीक्षक खनाललाई हटाउने चर्चा पनि केही समयअघि भएको थियो । सरकारले अमेरिका भ्रमण रोकेपछि त्यस्तो हल्ला गरिएको थियो । तर, प्रधानमन्त्री ओलीसँग ‘ठिकठाक’ सम्बन्ध रहेको स्रोत बताउँछ । ‘प्रधानमन्त्रीले हटाउन चाहेको भए उहिले नै हटाइसक्थे,’ प्रधानमन्त्री निकट एक अधिकारी भन्छन्,‘पछिल्लो समय प्रधानमन्त्रीसँग आईजीपीको राम्रै सम्बन्ध छ ।’

खनालपछि महानिरीक्षकका दाबेदार डीआईजी ठाकुर ज्ञवाली हुन् । उनको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत नेकपा नेताहरुसँग राम्रै सम्बन्ध छ । उनका मुख्य शक्तिकेन्द्र मानिएका कृष्णबहादुर महरा जेल परेपछि उनी कमजोर बनेका छन् । त्यही मौका आईजीपीले उठाउन खोजेको चर्चा गृह मन्त्रालयमा छ ।

ज्ञवाली आईजीपी भएमा असार २६ सम्म हुन्छन् । त्यसकारण अर्काे ब्याचलाई असर नपर्ने गरी ६ महिनाका लागि मात्र आईजीपीको कार्यकाल थप गर्न लबिङ भएको हो । यसका लागि महानिरीक्षक खनालले केही डिआईजीहरुसँग समेत छलफल गरेका छन् ।

उता ३० वर्षे सेवाहद हटाउने प्रयास पनि जारी छ । निजामतीमा अवकाशको उमेरहद ६० वर्ष बनाउन सहमति भएकाले प्रहरीको पनि सेवाहद यही बेला हटाउने लबिङ अघि बढेको छ । साथै एआईजी पुष्कर कार्कीलाई आईजीपी बनाउन पनि नेकपाकै एक समूहले लबिङ जारी राखेको छ ।-दृष्टिबाट File Photo



प्रतिक्रिया दिनुहोस्