Logo

सम्पत्ति शुद्धिकरणले नेता देखि बैंकरसम्मको सम्पत्ति खोतल्दै



काठमाडौं, २४ मंसिर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेपछि धेरैले राम्रो अनुसन्धान गर्न लागेको भनेर आशा गरेका थिए । तर, नतिजा भने देखिएको छैन । अनुसन्धानमा विभाग र विभागभित्रै कतिपय कर्मचारीले गर्ने चलखेलका कारण सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रभावकारी हुन नसकेको हो । पछिल्लो समय नेतादेखि ठूला व्यापारीहरुको छानबिन गरिरहेको भनेर विभागले हल्ला गरिरहेको छ । तर, अहिलेसम्म ठूला मुद्दा भने दायर हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभागलाई प्रभावकारी बनाउन भन्दै आफ्नो प्रत्यक्ष मातहतमा राखेका थिए । डेढ वर्ष भइसक्दा पनि विभागले प्रधानमन्त्रीको अपेक्षाअनुसार काम गर्न सकेको छैन । यातायात व्यवस्था विभागमा हुँदा चर्चा कमाएका सहसचिव रुपनारायण भट्टराईलाई विभागको महानिर्देशक बनाएयता धेरै क्षेत्रमा अनुसन्धान थालिएको छ । तर, अनुसन्धान अनुसन्धानमै सिमित छ ।

त्यसो त विभाग स्थापनाको आठ वर्ष नाघिसकेको छ । यो अवधिमा जम्मा ५३ वटा मुद्दा दायर भएका छन् । त्यसमा पनि धेरैजसो प्रहरीले पक्राउ गरेर पठाएका घटनाहरु छन् । पाँच डनविरुद्ध चलेको मुद्दा नै विभागको इतिहासमा सबैभन्दा ठूलो मुद्दा हो । प्रधानमन्त्री कार्यालय मातहत लगेपछि विभाग सक्रिय हुने अपेक्षा भएपनि त्यसअनुसार काम हुन सकेको छैन ।

आरोपीसँग अनुसन्धानकर्ताको उठबस

पछिल्लो समय मेडिकल कलेजदेखि नेतासम्म विभागले छानबिन गर्दै आएको छ । तर, अनुसन्धान चलखेल सुरु भइसकेको छ । अनुसन्धान अधिकृतहरुले नै गोप्य रुपमा अनुसन्धानमा रहेका मेडिकल कलेजका सञ्चालकहरुलाई समेत भेट्न थालेको स्रोत बताउँछ ।

मेडिकल कलेजका डनहरुका रुपमा चिनिएका खुमा अर्याल, बसुरुद्दिन अन्सारी, सुनिल शर्मा, दुर्गा प्रसाई, हरिश न्यौपाने, ज्ञानेन्द्र कार्की लगायत माथि विभागले अनुसन्धान थालेको छ । हरेक मेडिकल कलेजमा फरक फरक अनुसन्धान अधिकृत तोकेर छानबिन सुरु गरिएको छ । सबै अनुसन्धान अधिकृतहरु मेडिकल माफियाको प्रभावमा परिसकेका छन् । कतिपयले विवरण नै तोडफोड गर्न थालेको स्रोत बताउँछ ।

दीप बस्नेतलाई बोलाउने तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई विभागले बयानमा बोलाउने तयारी गरेको छ । सरकारी पदमा रहँदा उनले अकूत सम्पत्ति कमाएको उजुरी विभागमा परेको छ । विभागले उनको सम्पत्ति रोक्का राखिसकेको छ । निकट व्यक्तिहरुको नाममा उनले मेनपावरदेखि पार्टी प्यालेससम्म लगानी गरेको देखिएको छ ।

त्यस्तै आयौगमै पूर्व आयुक्त राजनारायण पाठकमाथि पनि छानबिन भइरहेको छ । भक्तपुर नेपाल इन्जिनियरीङ कलेजको अनियमिततामा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । सोही विषयसम्म जोडेर विभागले अनुसन्धान थालेको छ । जुन मुद्दामा कलेजका सञ्चालक लम्बोधर न्यौपानेसँग समेत बयान लिइसकेको स्रोत बताउँछ । उनीहरुले सामुदायिक कलेजलाई निजी बनाएर कमाउने योजना बनाएका थिए । सामुदायिक कलेजभित्र समेत व्यापक अनियमितता गरेका थिए ।

पूर्व सांसद र नेताहरुसमेत छानबिनमा

सुदुरपश्चिम प्रदेशका तत्कालीन राज्यमन्त्री प्रकाश रावलमाथि विभागले स्थलगतरुपमै कैलाली र कञ्चनपुर पुगेर छानबिन गरिसकेको छ । उनीविरुद्ध ठगी मुद्दा दायर भएपछि विभागले सम्पत्ति पनि छानबिन गरेको हो ।

त्यस्तै विभिन्न अपराधमा जेल परेका पूर्व मन्त्री श्यामसुन्दर गुप्तामाथिको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ । त्यस्तै पूर्व सांसद तथा हाउजिङ व्यापारी इच्छाबहादुर तामाङमाथि समेत गम्भीरताका साथ छानबिन भइरहेको स्रोत बताउँछ । क्रुर हत्याका अभियुक्त निलम्बित सांसद मोहम्मद अफताब आलममाथि पनि छानबिन सुरु भइसकेको छ ।

गायिका आनी छोइङ डोल्मा समेत विभागको छानबिनमा छिन् । हङकङबाट १९ करोड रुपैयाँ उनको खातामा आएको थियो । त्यसको स्रोत खुलाउन नसकेपछि खाता रोक्का राखेर छानबिन भइरहेको छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरु पनि विभागको छानबिनमा परेका छन् । खासगरी महंगो जग्गा किन्ने र बिचौलियाहरु छानबिनमा रहेको विभागका एक अधिकारीले बताए ।

कन्सलटेन्सीदेखि बैंक सञ्चालकसम्म

विभागले शैक्षिक परामर्शदाता, मेनपावर तथा बैंक सञ्चालकहरुको समेत विवरण संकलन गरिरहेको छ । कन्सलटेन्सी सञ्चालकहरु रातारात करोडपति बनेपनि उनीहरुले कर तिर्ने गरेका छैनन् । परामर्शका नाममा विद्यार्थीलाई विदेश पठाएर करोडौं कमाइरहेका छन् । जसकारण उनीहरुको सम्पत्ति विभागले खोजेको हो ।

मेनपावर सञ्चालकहरुले पनि गरिब जनता ठगेर करोडौं कमाएका छन् । कतिपय बैंक सञ्चालकहरुको समेत सम्पत्ति अस्वभाविक देखिएपछि छानबिन थालिएको एक अधिकारीले दृष्टिलाई बताए । ठूला शेयर कारोबारीलाई पनि विभागले निगरानीमा राखेको छ ।

सहकारीहरुमा त्रास

विभागको सक्रियतापछि सहकारी संस्थाहरुमा त्रास बढेको छ । कतिपयले कालो धन सहकारीमा लुकाउने गरेका छन् । तर, १० लााख भन्दा धेरै पैसा राख्ने र शेयर किन्नेहरुको विवरण मगाएर छानबिन थालेको छ । जसक्रममा कतिपय सहकारीले असहयोग गरेका छन् । असहयोग गर्ने ललितपुरको पशुपति सहकारीलाई विभागले पाँच लाख जरिवाना समेत गरेको छ । केही सहकारीमा नेताहरुको समेत स्रोत नखुलेको सम्पत्ति भेटिएको स्रोत बताउँछ ।

विभागले एकैपटक धेरै क्षेत्रमा हात हालेको छ । विभागका अनुसन्धानमा दख्खल र आँट भएका अधिकारीहरु थोरै छन् । जसकारण हल्ला धेरै र काम थोरै भएको छ । विभागका अधिकारीहरु भने यही वर्षभित्र विभागले ठूला मुद्दा दायर गर्ने दाबी गर्छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबाबमा नपरी अनुसन्धान गर्न विभागलाई निर्देशन दिएका छन् । मेकिकल कलेजका सञ्चालकमाथिको छानबिन पनि प्रधानमन्त्रीकै निर्देशनमा सुरु भएको हो । प्रधानमन्त्रीको यस्तो साथ पाउँदा पनि विभागले नजिता भने दिन सकेको छैन । विगतमा सरकारकै कारण विभागले धेरै अनुसन्धानहरु तामेलीमा राख्ने गरेको थियो ।

सरकारी वकिलको असहयोग ?

विभागले आफैं बिशेष अदालतमा मुद्दा चलाउने सक्ने अधिकार भए पनि त्यसका लागि बिशेष सरकारी वकिल कार्यालयको सहमति लिनुपर्ने ऐनमा व्यवस्था छ । तर, सरकारी वकिलले असहयोग गरेको विभागका अधिकारीहरु बताउँछन् । अनुसन्धान टुंगिएका कतिपय फाइलहरु महिनौंदेखि सरकारी वकिल कार्यालयमा अड्किएको उनीहरुको गुनासो छ । यस विषयमा महान्यायधिवक्ता अग्नि खरेलसम्म गुनासो पुगिसकेको छ ।

तर्साउने र असुल्ने समूह सक्रिय

विभाग सफल नहुनुको अर्काे कारण विभागभित्र रहेको एक खराब समूह हो । जसले विभागलाई दुहुनो गाई बनाएर लुट्दै आएको छ । ४÷५ वर्षदेखि विभागमा रहेको एक समूहले सेटिङमा धेरै उजुरीहरु तामेलीमा राख्दै आएको छ । यसरी विभागमा करोडौंको डिल हुने गरेको छ ।

यस्तो समूहको नेतृत्व विभागका निर्देशक विनोद लामिछानेले गर्दै आएको स्रोत बताउँछ । उनी विभागमा बसेको चार वर्ष नाघिसकेको छ । जबकि, अन्य उपसचिवहरु त्यहाँभित्रको चलखेल देखेर एक वर्ष पनि बस्न सक्दैनन् । लामिछाने भने प्रधानमन्त्रीस्का सल्लाहकारहरुको पावर लगाएर विभागमा बस्दै आएका छन् । उनीहरुसहित केही अधिकृतहरुको समूहले लामो समयदेखि विभागमा हालिमुहाली गर्दै आएको छ । उनीहरुले बेनामे उजुरी आफैं हालेर समेत कतिपयलाई तर्साउने गरेका छन् । अहिलेका महानिर्देशक रुपनारायण भट्टराईलाई समेत सो समूहले आफ्नो प्रभावमा पारिसकेको स्रोत बताउँछ । ‘भाइरसहरुलाई नहटाएसम्म जति हल्ला गरेपनि विभागबाट केही काम हुँदैन,’ विभागका एक अधिकारी भन्छन्,‘यहाँ सेटिङ गर्ने गिरोहले काम गर्नै दिदैन ।’-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्