Logo

महिला हिंसा रोक्नको लागि आर.एन. वुमेनको १६ दिने अभियान सम्पन्न



‘लागू औषधको हानी, नोक्सानी रोकथाम र न्यूनीकरणको लागि सबैले योगदान गरौं’
काठमाडौं, २४ मंसिर । महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०’ को आयोजना गरेको छ । उक्त अभियानको आज अन्तिम दिनमा आयोजक संस्था आर.एन. वुमेनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त १६ दिने अभियानबारे जानकारी गराएको हो ।

‘लागु औषध विरुद्धको लडाईले हिंसालाई सक्षम बनाउँछु, लागु पदार्थको प्रयोग हिंसा र दुरुपयोगको लागि बहाना होईन’ भन्ने मूल नाराका साथ उक्त अभियान चलाईएको रिकभरिङ नेपाल वुमेनकी टिम लिडर सोनाम शेर्पाले जानकारी दिईन् ।

उनकाअनुसार गत नोभम्बर २५ मा काठमाडौंदेखि सुरु गरिएको उक्त अभियान नोभेम्बर २६ देखि काठमाडौं उपत्यकाबाहिर एकैसाथ ७ वटा प्रदेशमा डिसेम्बर ९ सम्म अभियान चलाईएको थियो । उनले भनिन्,‘हामीले यो अभियान सातवटै प्रदेशमा सञ्चालन गर्यौं, आज अन्तिम दिन काठमाडौंमा गरियो ।’ उनकाअनुसार उक्त अभियान सञ्चालनको लागि आफूहरुलाई हानी न्यूनीकरण अन्तर्राष्ट्रिय नेटवर्क (रिन) ले सहयोग गरेको छ ।

प्रत्येक वर्ष डिसेम्बर १० मा महिला हिंसाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तरर्राष्ट्रिय अभियान मनाईदै आईएको छ । यसै सम्बन्धमा आर.एन. महिला र हानी न्यूनीकरण अन्तरर्राट्रिय नेटवर्कले लागुऔषध प्रयोग गर्ने महिलाविरुद्ध हुने हिंसालाई सबै प्रकारले अन्त्य गर्न आह्वान पनि गरेका छन् । हिंसाविरुद्धको अन्तरक्रियामा लागुऔषधमा फसेका महिलाहरुलाई समाजमा अन्य नागरिकजस्तै सम्मान पाउनुपर्नेमा जोड दिईएको छ ।

कार्यक्रममा राजनितिक विशलेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले मानिसहरुलाई स्रोत धेरै भएको र उक्त स्रोतलाई कसरी न्यून गर्ने कुराको कारण लागुऔषध प्रयोगकर्ता समाजमा बढेको तर्क गरे ।

उनले भने,‘छोराले लागुऔषधी प्रयोग गर्दा छोरालाई विभिन्न माध्यमबाट लागुऔषधीको प्रयोगलाई छुटाउन प्रयास गरिन्छ । तर महिलाले गर्यो भने घरबाटै निकाला गर्न र बीच बाटोमै छोड्ने गरिन्छ । विश्वव्यापी रुपमा महिलाको अवस्था गाह्रो रहेको छ ।’
लागुऔषधमा फसेको महिलालाई बीच बाटोमा छोड्न नहुने उनको तर्क छ । केसीले थपे,‘उनीहरुलाई सकेको सहायता गर्नुपर्छ । सरकार पक्षनै बेचबिखनमा संलग्न छ ।’ महिला बेचबिखन गर्ने मानिसनै भोली गएर ठूलो पदवी सम्हालेर बस्ने गरेको बताए । सरकार यसबारेमा कमजोर रहेको समेत बताए ।

उनले नेपालमा शिक्षक वर्ग दबिएको कारण महिला हिंसा बढेको पनि टिप्पणी गरे । महिलाहरु आर्थिक, राजनितिक र सामाजिक शोषणमा परेको पनि उनको भनाई छ । ‘महिलाहरु विशेषगरि पुरुषबाट बढि शोषित भएका छन्’–उनले भने ।
महिलाहरु हिंसाको शिकार भएकोले उनीहरुलाई यसबाट मुक्त गराउन जरुरी रहेको केसीको जोड थियो । लागुऔषध, अपाङ्गता भएका र तेस्रो लिङ्गको व्यक्तिहरु समाजबाट उपेक्षित भएको उनको धारणा छ ।

कार्यक्रममा रिकभर नेपाल वुमेनकी अध्यक्ष सर्मिला बैद्यले महिलाप्रति भएको दुःखलाई हेरेर आफूहरुले उक्त संस्थाको स्थापना गरेको स्पष्ट पारिन् । उनले लागुऔषधमा संलग्न रहेका महिलाहरुको लागि कोही पनि नभएको बताईन् ।

लागुऔषधमा फसेको महिलाहरु घरपरिवार र समाजबाट उपेक्षीत भएको उनको भनाई छ । उनकाअनुसार सन् २००५ मा स्थापित भएको उक्त संस्थाले अहिलेसम्म खासै प्रगति गर्न नसकेको भन्दै दःुख व्यक्त गरिन् । महिलालाई कुलतबाट बचाउन निकै गाह्रो भएको समेत उनको भनाई छ । उनले महिलाको पीडालाई बझन् आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

त्यसैगरि सेभ द चिल्ड्रेनकी अभिभावक सुवोधी रायमाझीले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने १६ दिने अभियान सक्रियताका साथ सञ्चालन हुँदै आएको सुनाईन् । उक्त अभियानलाई जोड दिएर लागुऔषध र महिला हिंसामा परेको महिलालाई आफूहरुले सकेको सहायता गरिरहेको बताईन् ।

उनले लागुऔषधमा फसेको महिलाहरु पनि मानव अधिकारको अधिनमा पर्छ भन्ने कुरालाई स्पष्ट पारिन् । सामाजले लागुऔषध प्रयोग गर्ने महिलालाई हेर्ने नजरमा समाजले सुधार ल्याउनुपर्ने बताईन् । ‘जस्तोसुकै महिलाले पनि आफ्नो अधिकार पाउनु आवश्यक छ । कोही पनि महिला अधिकारबाट बञ्चित हुनुहुँदैन् ।’ उनले भनिन् ।
हिंसा वा लागुऔषधमा परेका महिलाहरुको हकअधिकारको लागि आवाज उठाउन जरुरी रहेको उनले दोहोर्याईन् ।

यसैगरि आर.एनका कार्यकारी निर्देशक विष्णु शर्माले लागुऔषध सेवन गर्ने मानिसलाई औषधीले आफ्नो अधिनमा राख्ने र विस्तारै यसको लतमा फस्दै जाने तितो यथार्थ सुनाए ।

लागुऔषध सेवन गर्नु एउटामात्रै कारण नभएर यसको पछाडि हजारौं कारण रहेको शर्माले स्पष्ट पारे । लागुऔषधले यूवा वर्गलाई दिनानुदिन आफ्नो जालमा पार्दै गएको शर्माको भनाई छ ।

यूवा, महिला तथा पुरुष लागुऔषध प्रयोगकर्ता बढेकोमा भने उनले चिन्ता व्यक्त गरे । सरकारी तथ्यांकअनुसार ११ प्रतिशतले यूवा विभिन्न लागुऔषधमा संलग्न रहेका छन् । त्यस्तै, १० प्रतिशत महिलाहरु लागु औषधमा फसेको उनले बताए । लागुऔषध सेवन गर्ने महिलाहरु अत्यधिक बढेको पनि उनले जनाए ।

नेपालको लागुऔषध नियन्त्रणसम्बन्धी ऐन–२०३३ ले लागुऔषध प्रयोग गर्ने व्यक्ति अपराधी हो भनेर स्पष्ट पारेको पनि जानकारी दिए । साथै, विश्व स्वास्थ्य संगठनले पनि लागुऔषधको सेवनलाई रोगको रुपमा चित्रण गरेको पनि उनले स्प्ष्ट पारे ।
‘लागुऔषध सेवन नियन्त्रणको लागि छिटोभन्दा छिटो उपचार हुनुपर्छ’–उनले भने,‘लागुऔषधी प्रयोगकर्ता बढेको कारण एच.आई.भी संक्रमण ८.३ प्रतिशतले बढेको छ । त्यस्तै, हेपेटाइटिस–बी महिलामा ८० प्रतिशत देखापरेको छ।’

लागुऔषधी प्रयोग गर्ने महिलाहरु अपहेलनामा परेको पनि उनले दुःखद् दृष्टान्त पनि उनले पेश गरे । शर्माले महिलामाथि हुने हिंसा र अपहेलनालाई न्यूनिकरण गर्नमा जोड दिनु्पर्ने बताए । कार्यक्रममा आर.एन. वुमेनकी टिम लिडर सोनाम शेर्पाले प्रेस वक्तव्य वाचन गरेर सुनाएकी थिईन् ।

आर.एन. वुमेनले जारी गरेको विज्ञप्तीअनुसार नेपालमा वि.सं. २०६३ मा गरिएको सर्वेक्षणमा कडा खाले लागु औषध प्रयोगकर्ताहरुको संख्या ४६ हजार तीन सय ९ रहेको छ भने २०६९ को सर्वेक्षणमा यो संख्या ९१ हजार ५ सय ३४ रहेको छ । उक्त तथ्यांकले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागु औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको पनि देखिएको आर.एन. वुमेनले जनाएको छ ।

उक्त संस्थाले सबैले आ–आफ्नो तह र तप्काबाट लागू औषध दुरुपयोगको समस्याबाट सिर्जना हुने हानी, नोक्सानी रोकथाम र न्यूनीकरण गर्न योगदान दिन आग्रह गरेको छ । उसले भनेको छ,‘जसले गर्दा एक स्वस्थ र सुखी समाजको दिशामा अग्रह हुन सकौं ।’



प्रतिक्रिया दिनुहोस्