Logo

अर्बपति खरिदार



काठमाडौं, २४ मंसिर । भूमिब्यवस्थापन तथा अभिलेख विभागले एक महिनाअघि बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरेका एक कर्मचारीको पत्र लुकाएर पुनः साविककै कार्यालयमा राखेको छ । लक्ष्मण बस्नेत ८ बर्षदेखि चावहिल मालपोत कार्यालयमा कार्यरत छन् । चावहिल मालपोतबाट गैरकानुनी रुपमा सरकारी जग्गादेखि छुट जग्गा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका खरिदार बस्नेतलाई एक महिनाअघि बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरिएको थियो । तर एक महिनासम्म विभागमै पत्र लुकाई पुनः चावहिलमै पदस्थापन गरिएको छ ।

भूमिब्यवस्थापन विभागका महानिर्देशक कृष्ण ज्ञवाली आफ्नो सम्धी नाता पर्ने भएकाले आफ्नो पदस्थापन बर्दिबासबाट रद्द गराएको दाबी उनले कर्मचारीबीच गर्ने गरेका छन् । यद्यपि, महानिर्देशक ज्ञवालीले दृष्टिसँग कर्मचारीको ब्यवस्थापन गर्ने क्रममा त्यस्तो भयो होला, तर म खरिदार बस्नेतलाई चिन्दिनँ भने ।

अर्बपति खरिदार
चावहिल मालपोत कार्यालयका खरिदार बस्नेत मालपोतका कर्मचारीबीच अर्बपतिका रुपमा चिनिन्छन् । काठमाडौं उपत्यका मालपोत कार्यालयहरू सबै चहार्दै सरकारी जग्गा गैरकानुनी रूपमा दर्ता गर्नेदेखि छुट जग्गा दर्ता र सेवाग्राहीसँग घुस असुली गरी चावहिलको भत्केको पाटीमा तीन रोपनी क्षेत्रफलमा घर बनाएका छन् । उनले यसका अलावा काठमाडौका धेरै ठाउँमा जग्गा जोडेका छन् भने, छोराको नाममा चावहिलकै नमस्ते नेपाल सहकारीमा ५ करोड भन्दा बढी लगानी गरेका छन् । उक्त सहकारीमा उनले छोरालाई कर्मचारी नै राखेका छन् । त्यस अतिरिक्त उनको धेरै ठाउँमा जग्गा छ । भोजपुरबाट काठमाडौं झरेका उनी आज यति सम्पत्तिले पनि नपुगेर चावहिल मालपोत कार्यालयको मुद्दा फाँटमा बसी पचासौं रोपनी छुट जग्गा दर्ता गर्दै असुलीमा तल्लीन छन् । कानुनविपरीत छुट जग्गा दर्ता गरेको आरोपमा २ बर्षअघि कर्मचारीसहित ५४ जनाविरुद्ध मुद्दा दायर भयो । तर घुस असुली गर्ने मुख्य भूमिका निभाएका खरिदार बस्नेत दीप बस्नेतलाई भनसुन गरी उन्मुक्ति पाए । छुट जग्गा दर्तामा उनले नै सबै डिल गरेका थिए । तर मुद्दा भने अरु कर्मचारीबिरुद्ध मात्र दर्ता गरी अख्तियारले बस्नेतलाई उन्मुक्ति दिएको थियो ।

डिल्लीबजार मालपोत कार्यालयका अरबपति खरिदार लक्ष्मण भट्टराई १५ बर्षदेखि रजिष्ट्रेसन फाँटमा भएजस्तै चावहिलमा लक्ष्मण बस्नेतले ९ बर्षदेखि लगातार मुद्दा फाँटमा बसी गैरकानुनी जग्गा दर्ता गरी करोडौं करोड घुस संकलन गर्दैआएका छन् । उनीविरुद्ध अख्तियारमा भ्रष्टाचार गरी आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । तर अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेतले उनीबाट ठूलै रकम लाभ लिएर तामेलीमा हालेका थिए ।

धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानुनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप बस्नेतमाथि छ । धादिङको राजमार्गछेउमा १ रोपनी जग्गा हुनेलाई पछाडिको जंगलसमेत हालेर २ वटा जीरो थपी १०० रोपनीको पूर्जा दिने काममा पनि बस्नेत संलग्न थिए । जुन जग्गाको एक चरणको छानबिन सकेर मुद्दा दायर भइसकेको छ भने अर्को चरणको छानबिन भइरहेको छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्