Logo

देउवाविरुद्ध पौडेल आक्रामक, २०७७ को जेठभित्रै महाधिवेशन गर्न अल्टिमेटम



काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । नेता पौडेलले पार्टीको १४औं महाधिवेशन आगामी २०७७ को बैशाख जेठभित्रै सम्पन्न गर्न अल्टिमेटम दिएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले सभापति देउवाविरुद्ध यस्तो चेतावनी दिएका हुन् ।

सभापतिको चार वर्षे कार्यकालको अन्तिममा आएर पार्टीका विभागहरु गठन गर्नुको कुनै औचित्य नहुनेपनि पौडेलको भनाई छ । उनले भनेका छन्,‘अहिले आएर विभाग गठन गर्नुको औचित्य छैन् । यो चार वर्ष के हेरेर बसेका थिए ? अहिले आएर गर्नुको कुनै अर्थ छैन् । म कुनैपनि हालतमा मान्दिन्।’ विभाग गठनको लागि सभापतिको तर्फबाट आफूसँग नाम मागेपनि नदिने उनको चेतावनी छ ।

उनले सभापति देउवाले आफूहरुको कुरा नसुनी एकतर्फी रुपमा पेलेर गए पार्टीृभित्र ठूलो दुर्घटना हुनेपनि चेतावनी दिए । ‘म अब सहेर बस्दिन्’–उनले भने । कांग्रेसमा अब बहुमतको आधारमा पेलेर जाने दिन सकिएको पनि उनको भनाई छ । उनले भने,‘अब सहमति, एकता र मेलमिलापको आधारमा जानुपर्छ ।’

पार्टीको १४औं महाधिवेशनमा हिन्दूराष्ट्रको एजेण्डा बनाउन नहुने पनि उनले स्पष्ट पारे । उनले भने,‘कांग्रेसमा विपीले त हिन्दूराष्ट्रको एजेण्डा बोक्नुभएन् । बरु, उहाँले समाजवादको एजेण्डा अघि सार्नुभयो । यदि कसैले यो एजेण्डा बोक्छ भने पार्टीको लागि ठूलो क्षति हुनेछ ।’

यही मंसिर २६ गते बस्ने पार्टीको केन्द्रिय कार्यसमिति बैठकको बारेमा आफ्नो समूहको एजेण्डा तय गर्न पौडेल समूहले भोलि विहान ११ बजेबाट महामन्त्री डा. शशांक कोइरालाको निवासमा आन्तरिक छलफल गर्ने कार्यक्रम राखेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्