Logo

नेपालले जित्यो फुटबलको स्वर्ण



काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली फुटबल (साग) अन्तर्गत साग फुटबलको स्वर्ण नेपालले जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो ।

नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेर जित दिलाएका हुन् । पहिलो हाफको १७ औं मिनेटमा अभिषेकले डि बक्सभित्रबाट गोल गरेका थिए । भुटानका चेम्जुङ ग्यान्जेलले ३७ औं मिनेटमा सानदार बराबरी गोल गरेका थिए ।

पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको भुटानको स्वर्ण जित्ने महत्वाकांक्षालाई सुनिल बलले असफल पारिदिए । बलले दोस्रो हाफमा हेडमार्फत् सानदार गोल गरे । उनले गरेको गोल भुटानी गोलरक्षकले रोक्न सकेनन् ।

भुटानले नेपाललाई दोस्रो हाफमा दबाबमा राखेपनि गोल गर्न सकेन । नेपाली खेलाडीले पनि गोलका सुन्दर अवसर खेर फाल्यो ।
साग फुटबल स्वर्ण जितेर नेपालले स्वर्ण संख्या ५१ पुर्याएको छ । अन्तिम दिनको फाइनल हेर्न घरेलु दर्शकको उल्लेख्य उपस्थिति थियो ।

पदक विजेता खेलाडीहरु पनि दशरथ रँगशालामा देखिएका थिए । घरेलु दर्शकको समर्थन पाएको नेपाली खेलाडी उच्च मनोबलका साथ खेलेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्