Logo

ऐतिहासिक बन्यो तेह्रौँ साग



काठमाडौं, २५ मंसिर । नेपालले दक्षिण एसियाली खेलकुद सागको तेह्रौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुरुष फुटबल खेलको फाइनलसँगै समारोहको आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको हो । अतिथि सत्कार र व्यवस्थापनमा समेत नेपालले प्रशंसा पायो । पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष शाहिद अली हसनले समापन समारोहमै प्रशंसा गरेका थिए । उनले नेपालले प्रदान गरेको आतिथ्य र व्यवस्थापकीय कुशलताले चौधौं साग आयोजना गर्न उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।

सम्भावना देखाएको तेह्रौं साग
व्यवस्थापकीय कुशलता र आतिथ्यले मात्रै नभई नेपालले सागको ३५ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा बढी स्वर्ण जितेर कीर्तिमान समेत बनायो । पछिल्ला बाह्र संस्करणमा ७१ स्वर्ण जितेको नेपालले सागको एकै संस्करणमा ५१ स्वर्ण जितेर खेलकुदमा नयाँ ऊचाई समेत पायो ।

मङ्सिर १५ गते सुरु भई काठमाडौं–पोखरा र जनकपुरधाममा दशदिनसम्म चलेको सागमा कुल एक हजार ६३ पदकका लागि दुई हजार ७१५ खेलाडी सहभागी थिए । घरेलु मैदानमा नेपाली खेलाडीले एथ्लेटिक्स, पौडी, भारत्तोलन, कुस्ती, गल्फ लगायतको विधामा कीर्तिमान बनाउन सफल भए । पौडीकी गौरिका सिंहले सागको एकै संस्करणमा चार स्वर्णसहित ९ पदक जितेर पहिलो सर्वाधिक सफल खेलाडी बन्न सफल भए । किरणसिंह बोगटीले ४२ किलोमिटरको दौड जित्दा तीन दशकपछि नेपालले एथ्लेटिक्समा वापसी गर्यो । गल्फमा १७ वर्षे सुवास तामाङ्को दोहोरो स्वर्णले नेपाललाई खेलकुद विधालाई थप प्राथमिकता दिनुपर्ने बनायो । महिला भलिबलमा नेपाली टोलीको प्रदर्शनले खेलकुदमा नेपालको सम्भावनालाई मजबूत बनायो । कुस्तीमा संगिता धामीको स्वर्णले खेलकुदमा महिला सहभागितालाई र आँटलाई फराकिलो बनायो । प्रतिष्ठित विधा अन्तगर्त क्रिकेटमा निराशा हात लाग्दा फुटबलमा उपाधि रक्षा गरेको नेपाललाई दक्षिण एसियामा फेरी एकपटक स्थापित गरायो ।

समग्रमा देशका अन्य शहरहरुमा सफलतापूर्वक सम्पन्न हुनुले पहिलो पटक विकेन्द्रित खेलकुदको अन्तर्राष्ट्रिय उत्सवले राष्ट्रिय भावनालाई मजबूत बनाउन समेत सफल भएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्