Logo

सागको सुखद समापन



काठमाडौं, २५ मंसिर । आगामी संस्करणमा पाकिस्तानमा भेट्ने वाचा गर्दै १३औं दक्षिण एसियाली खेलकुद सागको भव्य समापन गरिएको छ । दशरथ रंगशालामा मङ्गलबार साँझ नेपाल र भुटानबीचको पुरुष फुटबल फाइनल खेलसँगै विशेष समारोहबीच सागको भव्य समापन गरिएको हो ।

समापन समारोहलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपमा सदस्यसचिव रमेश सिलवालले विशेष सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सबैले अथक प्रयासले छोटो समयमा साग सफलतापूर्वक सम्पन्न गरेको बताए । सोही अवसरमा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले १४औं सागको आयोजक पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सैद अलि हसनलाई साग आयोजनाको झन्डा हस्तान्तरण गरेका थिए । झन्डा ग्रहण गर्दै अध्यक्ष हसनले नेपालको आतिथ्यले सबैलाई लोभ्याएको बताए । उनले आगामी संस्करणमा सबैलाई आतिथ्य दिन पाकिस्तान तयार रहेको बताए । समापन समारोहमा खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा आर्मी, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहेको थियो ।

समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत विशेष सम्बोधन गरेका थिए । नेपालका पदक विजेता खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्री ओलीले बुधबार विशेष पुरस्कार घोषणा गर्ने कार्यक्रम छ ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्