Logo

फुटबलको उपाधि रक्षा



काठमाडौं, २५ मंसिर । नेपालले १३औं दक्षिण एसियाली खेलकुद साग फुटबलको स्वर्ण जितेको छ। घरेलु मैदान दशरथ रंगशालामा मंगलबार भएको पुरुष फुटबलको फाइनलमा नेपालले भुटानलाई २–१ गोलले हरायो। यससँगै नेपालले साग फुटबलको उपाधि रक्षा गरेको छ। नेपालले सन् २०१६ मा भारतमा सम्पन्न अघिल्लो संस्करणमा पनि पुरुष फुटबलको उपाधि जितेको थियो।

प्रतिस्पर्धात्मक खेलमा नेपालको उपाधि रक्षामा अभिषेक रिजाल र सुनिल बल नायक बने। भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले एक गोल फर्काए। नेपालले १७औं मिनेटमा अभिषेकको गोलमा खाता खोलेको थियो। अभिषेकले अनन्त तामाङको पासमा पोस्ट नजिकबाट गोल गरेका थिए। १५ हजार नेपाली समर्थकको बीचमा केही दबाबमा देखिएको भुटानले ३७औं मिनेटमा बराबरी गोल फर्काएको थियो। नेपालको अग्रतापछि आक्रामक देखिएको भुटानका लागि कप्तान चेन्चोले आकर्षक गोल गरे। उनले डिबक्स छेउबाट नेपालका रक्षक विक्रम लामा र अनन्त तामाङलाई छक्याउँदै गोल गरेका थिए। पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा नेपालले ५४औं मिनेटमा उत्कृष्ट गोल ग¥यो। नेपालका लागि सुनिल बलले गोल गरे। सुमन अर्यालको लामो पासमा सुनिलले हेडमार्फत जाली चुमाएका थिए। त्यसपछि केही रक्षात्मक खेलिएको नेपालले आफ्नो रणनीतिमा सफलता पायो र घरेलु मैदानमा स्वर्ण जित्यो। नेपालले यसअघि राउन्ड रोबिन लिगको खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो।

खेलपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सागमा स्वर्ण जित्ने लक्ष्य पूरा भएको बताए। ‘सागकै महत्वपूर्ण स्वर्ण जित्न सफल भयौं। लिग चरणदेखि नै खेलाडीले धेरै राम्रो खेले। स्वर्ण जित्ने लक्ष्यका साथ हामीले तयारी गरेका थियौं, जुन लक्ष्यमा हामी सफल भयौं। चार महिना लामो तयारीमा हामीले धेरै मेहनत गरेका थियौं। सात दिनमा पाँच खेल खेल्न वास्तवमै गाह्रो थियो। फाइनल खेलमा सुजल श्रेष्ठ घाइते भएकाले पनि केही गाह्रो भयो। अपराजित रहँदै उपाधि जित्न सक्नु नै ठूलो कुरा हो’, बालगोपालले भने। सागमा व्यवस्थापन राम्रो भएकाले पनि खेलाडीले स्वर्ण जितेको बालगोपालले बताए। ‘यसपटक खेलाडी मानसिक र शारीरिक रूपमा फिट थिए। साग खेलाडीलाई राम्रो तयारी र विशेष सुविधा दिइएको थियो। भविष्यमा घरेलु लिग राम्रो र व्यवस्थित भयो भने नेपालले झनै राम्रो गर्नेछ। मलाई राखेप र एन्फाले जुन भूमिका दिन्छ, त्यो पूरा गर्न तयार छु’, बालगोपालले भने। बालगोपालले साग फुटबलमा स्वर्ण जित्नु आफ्ना लागि विशेष संयोग रहेको पनि बताए।

बालगोपालले टिमका सहयोगी राजेश मानन्धर र मृगेन्द्र मि श्रको टोलीले खेलाडी र प्रशिक्षक दुवैका रूपमा स्वर्ण जितेका छन्। सन् १९९३ मा नेपालले स्वर्ण जित्दा बालगोपाल, राजेश र मृगेन्द्र तीनैजना टोलीमा थिए। बालगोपाल सन् १९९९ मा नेपालले रजत जित्दा पनि टोलीमा थिए। नेपाल दक्षिण एसियाली खेलकुद इतिहासमा पुरुष फुटबलको फाइनलमा पुगेको यो छैटौं पटक हो । काठमाडौंमा भएका प्रत्येक संस्करणमा नेपाल फाइनल पुग्न सफल हुँदै आएको छ । दक्षिण एसियाली खेलकुदको १३औं संस्करणसम्म आइपुग्दा नेपालले फुटबलमा चौथो पदक स्वर्ण पदक जितेको हो। सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो र सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं संस्करणमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो।

नेपालसँगै पाकिस्तानले पनि चार पटक दक्षिण एसियाली खेलकुदमा फुटबलको स्वर्ण जितेको छ। यसैगरी भारतले तीन र बंगलादेशले दुई पटक फुटबलमा स्वर्ण जितेका छन्। भुटानले पहिलो पटक साग फुटबलमा रजत जितेर इतिहास बनाएको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्