Logo

नेपाललाई एडीबीको ४० अर्ब ऋण



काठमाडौँ, २५ मंसिर । एसियाली विकास बैङ्कले नेपालका विभिन्न चारओटा परियोजनाका लागि ४० अर्ब ४५ करोड ४० लाख रुपियाँ ९३५ करोड ८० लाख डलर ऋण उपलब्ध गराएको छ ।

ऋण उपलब्ध गराउने सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर हामुदखानोभले मङ्गलबार हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार एडीबीले पोखरा–मुग्लिन सडकको स्तरोन्नति, बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वस्थता सुधारका लागि थप वित्तीय सहयोग, साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार र सरकारको कृषि तथा खाद्य सुरक्षासम्बन्धी परियोजनाका लागि ऋण उपलब्ध गराउनेछ ।

त्यसमध्ये पोखरा–मुग्लिन सडकको स्तरोन्नतिका लागि २२ अर्ब तीन करोड९१९ करोड ५० लाख डलर ऋण उपलब्ध हुनेछ । सासेक परियोजना अन्तर्गतको यो सडक खन्डको पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर सडकलाई चार लेनको बनाइनेछ । बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वास्थ्य सुधारका लागि सात अर्ब ११ करोड थप लगानी बैङ्कले उपलब्ध गराउनेछ । यो परियोजना अन्तर्गत बागमतीको ५।७५ किलोमिटर किनारमा सुन्दरीकरण र खेर गएको पानीको ट्रिटमेन्ट प्लान्ट निर्माण, बाढीसम्बन्धी अग्रिम जानकारीका लागि जनचेतालगायतका काम हुने छन् ।
पाँच अर्ब ६५ करोड नीतिमा आधारित ऋण प्राप्त हुने कृषि तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमअन्तर्गत नेपालमा खाद्य सुरक्षा र गुणस्तर अनुगमन प्रणाली स्थापना हुनेछ ।

साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्राप्त हुने पाँच अर्ब ६५ करोड ऋणबाट ग्रामीण क्षेत्रका व्यवसाय र सहकारीलाई वित्तीय पहुँचको व्यवस्था गर्ने किसानको आम्दानी वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । सम्झौतापछि अर्थ सचिव खनालले चारओटै परियोजना नेपालका लागि धेरै महत्वपूर्ण रहेको र सरकारको सहभागितामूलक दीर्घकालीन विकासका लागि सहयोगी हुने बताए। नेपालका लागि देशीय निर्देशक हामुदखानोभले नेपालको विकास सहायतामा एडीबीले सहयोग बढाउँदै लगेको र यसले सरकारसँगको साझेदारी थप बलियो बन्दै गएको देखाएको बताए। परियोजना कार्यान्वयनमा भएको सुधारसँगै नेपालका लागि थप ऋण उपलब्ध गराउन एडीबीले उपलब्ध गराएको अवसरलाई प्रयोग गर्नसमेत उनले आग्रह गरे।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्