Logo

गैरपर्यटक भिसाबिना काममा रोक



काठमाडौँ, २५ मंसिर । कुनै आयोजना तथा गैरसरकारी संघसंस्थामा काम गर्न आउने विदेशी नागरिकलाई निस्शुल्क ग्राटिस भिसा सिफारिस गर्नुअघि सरकारी निकायहरूले गृह मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । निस्शुल्क भिसा पाउनेबाहेकका विदेशीलाई पनि विभिन्न मन्त्रालय तथा विभागले सिफारिस गर्न थालेपछि गृहले आफ्नो राय र पूर्वस्वीकृतिबिना सिफारिस नपठाउन परिपत्र गरेको हो ।

कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ, दौत्य सम्बन्ध भएका मुलुकका विशिष्ट व्यक्ति, बाबु वा आमा नेपाली भएका व्यक्तिसहित विभिन्न नौ प्रकारका पृष्ठभूमि भएका व्यक्तिलाई मात्र निस्शुल्क भिसा जारी हुँदै आएको छ । गृहले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको छ । पर्यटक भिसामा आएर विदेशीले गैरपर्यटक भिसा नलिई विभिन्न क्षेत्रमा काम गर्ने गरेको पाइएपछि गृहले मंसिर १३ मा ‘गृहमन्त्रीस्तरीय निर्णय’ बाट निस्शुल्क भिसासम्बन्धी नयाँ प्रावधान ल्याएको हो । आफ्नो स्वीकृतिबिना निस्शुल्क भिसा सिफारिस भई आएमा सिफारिस गर्ने सरकारी अधिकारीमाथि नै कारबाही गरिने गृहको चेतावनी छ । सरकारी, गैरसरकारी, निजी, द्विपक्षीय तथा बहुपक्षीय दातृ परियोजनालगायतमा कार्यरत विदेशीलाई पनि अनिवार्य गैरपर्यटकीय भिसामा रूपान्तरण गर्नुपर्ने र नगरे सम्बन्धित मन्त्रालयका सचिव र विभागीय प्रमुख नै जवाफदेही हुने गृहले बताएको छ ।

अध्यागमन नियमावली २०५१ को नियम २० को उपनियम १ मा अनुसार पर्यटक र परिवारका सदस्यको हैसियतमा निस्शुल्क भिसा पाउने विदेशीले नेपालमा रहँदा पारिश्रमिक लिई वा नलिई कुनै पनि उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ । सोही नियमको उपनियम २ मा निस्शुल्क भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो, त्यसबाहेकको काम गर्न पाइँदैन । तर अर्थ, भौतिक पूर्वाधार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खानेपानीलगायत विभिन्न मन्त्रालयअन्तर्गतका परियोजनामा पर्यटक भिसामा आएका विदेशी नै कार्यरत रहेको छानबिनबाट भेटिएको गृह मन्त्रालयले बताएको छ । निस्शुल्क भिसा सिफारिस भएका थुप्रै व्यक्ति गैरकानुनी रूपमा विभिन्न क्षेत्रमा कार्यरत रहेको पनि गृह मन्त्रालयको भनाइ छ ।

३ महिनामा ६० विदेशी कारबाहीमा
पछिल्लो तीन महिनामा पर्यटक भिसामा बसेर विभिन्न आयोजना तथा गैरसरकारी संघसंस्थामा कार्यरत ६० जना विदेशी कारबाहीमा परेका छन् । गृह मन्त्रालयको विशेष टोलीले आन्तरिक अनुगमनका आधारमा गैरपर्यटक भिसा नलिई सरकारी, गैरसरकारी, निजी तथा द्विपक्षीय र बहुपक्षीय परियोजनामा काम गरिरहेका उनीहरूसँग प्रतिव्यक्ति ५० हजार रुपैयाँ असुलेर गैरपर्यटक भिसा जारी गरेको हो ।

कारबाहीमा पर्नेमा अमेरिका, दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, चीन, स्पेन, फ्रान्स, उज्वेकिस्तानलगायत मुलुकका नागरिक छन् । केही विदेशीलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला नै गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्