Logo

वामदेव प्रधानमन्त्रीको दाबेदार बनेपछि…



काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीभित्र वामदेव गौतम उपाध्यक्ष बन्ने निश्चित भइसकेको छ । उनलाई उपाध्यक्ष बनाउनकै लागि पार्टीको विधान संशोधन हुँदैछ । स्थायी समिति बैठक बसेर विधान संशोधन गराइँदैछ ।

पार्टीको माथिल्लो कमिटि देखि संसदीय दलमा समेत बलियो पकड बनाएकाले उनलाई माइनश गरेर बढ्ने स्थितिमा नेकपाका अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड दुवै छैनन् । उनले पछिल्लो समय एकपछि अर्को शर्त तेर्साएर ओली र प्रचण्ड दुवैबाट लाभ लिन सकिरहेका छन् ।
संसद सदस्य नभएका वामदेवको सांसद बन्ने इच्छा देखिदै गएको छ । त्यसमा उनको शर्त समेत छ । संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेमात्र उनी राष्ट्रिय सभामा जान चाहेका छन् । अब आफू मन्त्री मात्र बन्ने पक्षमा नरहेको धारणा बाहिर ल्याएका छन् । गौतमको यो शर्त निकै अर्थपूर्ण छ ।

राष्ट्रियसभाको रिक्त एक तिहाई सदस्यका लागि चुनाव १५ माघभित्र भइसक्नेछ । त्यस अघि गौतमको शर्त अस्त्रका रुपमा देखिदैछ । संसदको हिउँदे अधिवेशन शुरु हुँदा उनका लागि संविधान संशोधनको प्रस्ताव अगाडि नबढे वा जोकोहीले रोकेमा नयाँ परिस्थिति उत्पन्न हुने सम्भावना छ ।

ओली सरकारको कार्यकाल दुई वर्ष पूरा हुन अब डेढ महिनामात्र बाँकी छ । संविधान बमोजिम सरकार गठन भएको दुई वर्षपछि अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ । गौतम नेकपामको संसदीय दलमा पकड भएका नेता हुन् । प्रधानमन्त्री ओलीले उनका लागि संविधान संशोधन गरेर प्रधानमन्त्रीको ढोका खोल्न नमाने अर्को परिस्थिति बनाइदिनसक्छन् । त्यो भनेको उनी प्रचण्डसँग मिलेर सत्ताको अंकगणित यताउता गर्न सक्छन् ।

प्रचण्डले उनको संविधान संशोधनमा अवरोध गरेमा ओलीसँग मिलेर प्रचण्डलाई भविष्यमा पनि प्रधानमन्त्री बन्न नदिने गरी कडा रुपमा प्रस्तुत हुन सक्छन् । विगतमा पनि उनले बलियो राजनीतिक अस्त्र फालेर पार्टीका आन्तरिक प्रतिपक्षीलाई असजिलो पार्ने गरेका थिए ।

वामदेवकै समर्थनले ओली नेकपा अध्यक्ष बन्न सफल भएका थिए । पछि ओलीले पेल्न थालेको भन्दै प्रचण्डसँग मिलेर असजिलो पारिदिए । अहिले उनी उपाध्यक्ष बनाइने भएपछि ओलीको नजिक छन् । राष्ट्रियसभा सदस्य बन्दै गर्दा संविधान संशोधन नभए उनको रणनीति बदलिन सक्छ । त्यसले ओली या प्रचण्डमध्ये कसै न कसैलाई दुरगामी असर पर्न सक्छ । नेकपाभित्र सुरथको एक्का गौतमको आगामी कदमले देशको राजनीतिमा समेत दुरगामी असर पर्ने संकेतहरु देखिदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्