Logo

फुटबल भनेपछि हुरुक्कै नेपाली



काठमाडौं, २५ मंसिर । नेपालीहरु फुटबल भनेपछि हुरुक्कै हुन्छन् । कुनैपनि अन्तर्राष्ट्रिय खेल भएमा दर्शकहरुको चाप थेग्नै मुश्किल पर्छ । यस्तै भयो साग खेल अन्तरगत फुटबल फाइनलमा । नेपाल र भुटानबीचको फाइनलका लागि विक्रीका लागि राखिएको आठ हजार टिकट केही घन्टामै सकियो । टिकटको कालोबजारी समेत भयो ।

टिकट पाउन र रंगशाला प्रवेशमा पुगेकाहरुको व्यवस्थापन गर्न प्रहरीलाई हम्मे पर्यो । लाठीचार्ज समेत भयो । त्यसका क्रममा पत्रकार समेत घाइते भए । १५ हजार क्षमताको रंशशाला साँघुरो भइसकेको छ । कम्तिमा ५० हजार क्षमताको रंगशाला विना फुटबलप्रेमीको प्रत्यक्ष फुटबल हेर्ने चाहना पूरा नहुने भइसकेको छ ।

फुटबलका ठूला प्रतियोगिता भयो कि रँगशालामा टेक्ने ठाउँ हुँदैन । यो आजको मात्र कुरा होइन । २०४५ सालमा जनकपुर चुरोट कारखाना र बँगलादेशको टोलीबीच फुटबल हुँदा आँधी आएर भागदौड मच्चिदा ९३ जनाको ज्यान गएको थियो । त्यतिबेला अहिलेको भन्दा बढी दर्शक क्षमताको रँगशाला भरिभराऊ थियो । घटनापछि तत्कालिन शिक्षामन्त्री केशरबहादुर बिष्ट र एन्फा अध्यक्ष कमल थापाले राजीनामा दिएका थिए ।

नेपालीहरु फुटबल भनेपछि हुरुक्कै हुन्छन् भन्ने खेलहरुबाट देखिएको छ । फुटबल भनेपछि हुरुक्कै भएपनि रंगशालाको अभाव छ । दशरथ रँगशाला जस्तो ठूलो रँगशालाहरु निर्माणमा सरकार गम्भीर देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्