Logo

गाडीमुनि केही त छैन ?



काठमाडौं २६ मंसिर । रोकिएको सवारी साधन फुत्तै कुदाउने गर्नुभएको छ ? अहँ, त्यसो नगर्नुहोस । त्यसको मुनि वा आडमा मान्छे, पशु–पन्छी जे पनि हुन सक्छन् । किचिएपछि चुकचुकाएर सल्टिंदैन । मोरङ बेलवारी–५ रामपुरमा यस्तै भयो । रोकेको स्कुल बसमुनि बालक खेल्न छिरेको चालकलाई थाहै भएन । जब बस अगाडी बढ्यो, किचिएपछि मात्र उसले देखे । अवोध शिशुको त्यहीं निधन भयो ।

शिवकुमारी साह बुधबार विहान ९ बजे स्कुल पठाउन ५ वर्षीय छोरा सोनुलाई तयार पार्दै थिइन । एलकेजीमा अध्ययनरत उनलाई खाना खुवाएर कपडा लगाइदिंदै गर्दा सडकमै आँगन जोडिएको घरअगाडि स्कुल बस आइपुग्यो ।

हतारहतार जेठा छोरा सोनुलाई लिएर उनी बसतिर अगाडि बढिन् । आँगनमा खेल्दै थिए कान्छो छोरा २२ महिनाका यसराज । उनको ध्यान जेठालाई बस चढाउनमा केन्द्रित भयो । तर खेल्न छाडेर आमा पछ्याउँदै आएका थिए यसराज । तर ढोकातिर नगइकन बसपछाडि पुगे ।

पाँच मिनेटजति रोकिएको बसमुनि छिरेर खेल्न थाले । जेठो छोरालाई बस चढाउनै ब्यस्त शिवकुमारीले यो कुरा ख्यालै गरिनन् । बसका चालक, सहचालक र अन्य विद्यार्थीले पनि उनी बसमुनि छिरेको देख्दै देखेनन् ।

सोनु चढेर सिटमा बसिसकेपछि कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को१ख ३०४६ नम्बरको बस अगाडि बढ्यो । लगत्तै कही पड्किएको जस्तो ठूलो आवाज आयो । हेर्दा बसले किचेर यसराज छटपटाइरहेका थिए । निमेषभरमै उनको प्राणपखेरु उड्यो । -अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्